१० श्रावण २०८३, आइतबार

सेयर कर्जा विस्तारमा एसबिआई, एनआइसी र एभरेस्ट एग्रेशिभ, सेयर किन्न कुन बैंकले कति दिए ?



काठमाडौं । पछिल्लो समय बैंकबाट ऋण लिएर धमाधम सेयर किन्नेहरु बढीरहेका छन् । बैंकहरु सेयर धितोमा प्रवाह गर्ने कर्जा विस्तारमा एग्रेसिभ देखिएका हुन् ।

एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको सेयर कर्जा विस्तार १९.८८ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको गत आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

अघिल्लो आवमा २० वटा बैंकहरुले ५८ अर्ब ६७ करोड ९० लाख रुपैयाँ सेयर कर्जा दिएका थिए । तर, गत आवमा आइपुग्दा भने यस्तो कर्जा बढेर ७० अर्ब ३४ करोड ४७ लाख रुपैयाँ कायम भएको छ ।

अधिकांश बैंकहरु सेयर कर्जा विस्तारमा आक्रमक देखिएका छन् । गत आवमा नेपाल एसबिआई र एनआइसी एशिया बैंकको सेयर कर्जा लगानी उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आवमा नेपाल एसबिआईले २४ लाख रुपैयाँ मात्र सेयर कर्जा दिएको थियो । तर, गत आवमा भने यस्तो कर्जा ७३९.९५ प्रतिशत बढाएर २ करोड पुर्याएको छ। यता, एनआइसी एशियाको सेयर कर्जा पनि २८६.१५ प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ९० लाख रुपैयाँ पुगेको छ ।

यस्तै, एभरेष्ट बैंकले पनि सेयर कर्जा ९०.२४ प्रतिशत, नेपाल बैंकले ७१.८२ प्रतिशत, सिद्धार्थले ४२.१३, कृषि विकासले ३९.९५, सिटिजनले २६.४६ प्रतिशत बढाएका छन् । यी बैंकहरुले गत आवमा क्रमशः २ अर्ब २ करोड ६९ लाख, ५ अर्ब ७८ करोड ८ लाख, १ अर्ब ५९ करोड १६ लाख रुपैया सेयर कर्जा लगानी गरेका छन् ।

रकमका आधारमा भने सबैभन्दा धेरै सेयर कर्जा नबिल बैंकले प्रवाह गरेको छ । गत आवमा बैंकले ११ अर्ब ४२ करोड ७८ लाख रुपैयाँ कर्जा दिएको छ । यो अघिल्लो आवको तुलनामा २२.७४ प्रतिशत बढी हो ।

दोस्रो धेरै ग्लोबल आइएमई बैंकले ७ अर्ब ५१ करोड ७३ लाख रुपैयाँ सेयर कर्जा दिएको छ। जुन अघिल्लो आवको तुलनामा १९.८ प्रतिशत धेरै हो ।

पछिल्लो समय बैंकिङ्ग क्षेत्रमै कर्जा विस्तार न्युन छ । तर, घजरजग्गा र सेयर बजारमा जाने कर्जा भने दोहोरो अंकले बढेको छ।सेयर बजारमा सुध्रिँदो गति र अर्थतन्त्रमा देखिएको सुधारको संकेतले पनि यस्तो कर्जा बढ्न थालेको हो । हरेक महिना सस्तिँदो ब्याजदर र नीतिगत लचकताले पनि यस्ता शीर्षकको कजौ विस्तार बढेको छ।

पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम बढेको छ । प्रणालीमा तरलता सहज भएपछि बैंकहरुको ब्याजदर घट्दै गएको छ ।

ब्याजदर घट्दै जाँदा कर्जा प्रवाह भने बढ्दै गएको हो । विस्तारै सेयर बजार पनि बढ्दो क्रममा छ । ब्याजदर सस्तिँदै गएपछि सेयर धितो राखी ऋण लिएर सेयर खरिदबिक्री गर्ने लगानीकर्ता बढेको पाइन्छ ।

पुरानै कर्जा असुलीमा लागे आधा दर्जन बैंक

अधिकांश बैंकहरुले सेयर कर्जा बढाए पनि केही बैंकहरु भने पुरानै कर्जा असुलीमा केन्द्रित देखिएका छन् । अर्थात् अघिल्लो आवको तुलनामा ती बैंकहरुको यस्तो कर्जा विस्तार घटेको छ ।

अघिल्लो आवमा ३ अर्ब ४ करोड ८६ लाख रुपैयाँ सेयर कर्जा विस्तार गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक गत आवमा आइपुग्दा भने ३९.०४ प्रतिशत घटाएको छ। गत आवमा बैंकले १ अर्ब ८५ करोड ८२ लाख रुपैयाँ मात्रै सेयर कर्जा दिएको छ ।

यस्तै, गत आवमा एनएमि बैंकको सेयर कर्जा पनि ३१.५७ प्रतिशत घटेको छ । योसँगै गत आवमा बैंकले ९८ करोड ८ लाख रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह गरेको देखिन्छ ।

यता, हिमालयन बैंकको यस्तो कर्जा विस्तार पनि ३० प्रतिशत घटेर २ अर्ब १ करोड १८ लाख रुपैयाँ कायम भएको छ । त्यसैगरि प्रभु बैंकको सेयर कर्जा पनि २०.०८ प्रतिशत, माछापुच्छ्रेको १५.३५ प्रतिशत, लक्ष्मी सनराइजको ८.९५ प्रतिशत घटेको छ ।

कुन बैंकको सेयर कर्जा प्रवाह कति ?