अब अटो व्यापार मात्र होइन उत्पादन केन्द्रित हुनुपर्छ : अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल नेपाली अटो क्षेत्र अब उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताए ।
मंगलबार काठमाडौंको भृकुटीमण्डमा सुरु भएको १६औं संस्करण ‘नाडा अटो शो–२०२४’ को उद्धघाटन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले अब अटो उत्पादनतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । त्यसका लागि व्यवसायीहरुलाई सरकारले पूर्ण रुपमा साथ दिने उनको भनाई थियो । नेपालको उत्पादन विदेशी बजारमा समेत स्थान पाउने गरि केन्द्रित हुनुपर्ने उनले बताए ।
‘अब सँधै ट्रेडिङ्ग मात्र गरेर हुँदैन । अटो इन्डस्ट्रीलाई उत्पादन तर्फ केन्द्रित हुनुपर्नछ । व्यवसायीलाई सरकारले सहयोगी भूमिका खेल्ने छ’, उनले भने, ‘नेपालमा गुणस्तरीय उत्पादन गर्न सक्नुपर्छ । नेपालको उत्पादनले विदेशी बजारमा स्थान लिन सक्ने छ ।’
यसका साथै अटो क्षेत्रको नीतिगत समस्या समाधानका लागि सरकार तत्पर रहेको बताए । अहिलेको स्थिर सरकार भएकाले पनि व्यवसायीहरुलाई नीतिगत रुपमा समस्या नहुने गरि समाधान तर्फ अघि बढ्ने बताए ।
सरकारले लिएको सहज नीतिकै कारण मुलुकाको अर्थतन्त्र गतिशिल हुँदै गएको अर्थमन्त्री पौडेलको भनाई छ । ‘अहिलेको सरकार स्थिर हो । हामीले लिएको सहज नीतिकै कारण आज देशको अर्थतन्त्र चलायमान हुँदै गएको छ । व्यवसायीहरुको नीतिगत समस्या पनि विस्तार समाधान हुन्छन् ।’
सोही अवसरमा राज्यले व्यवसायीलाई सँधै सहयोग गर्ने बताए । यद्यपि, इमानदारीताका साथ व्यवसाय गर्नपर्नेमा उनले जोड दिए । विगतका समस्याबाट व्यवसायीहरु आक्रान्त बन्न नहुने उनको भनाई थियो । व्यवसायका क्रममा कसैले दुःख दिए सँधै आफू (अर्थमन्त्रालय) समक्ष आउन समेत आग्रह गरे ।













