अरुण तेस्रो जलविद्युतको प्रसारण लाईनका समस्या समाधान गर्न निर्देशन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अरुण तेस्रो जलविद्युतको प्रसारण लाईनका समस्या समाधान गर्न निर्देशन



काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

अरुण तेस्रो जलविद्युत आयोजना, लगानी वोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले समस्या देखाउनेमात्र नभई समाधानमा केन्द्रीत हुन निर्देशन दिएका छन् ।

“विजुली उत्पादन गर्ने समय एक दिनमात्र ढिला हुँदापनि राज्यले करोडौँको घाटा बेहोर्नुपर्छ, आयोजना र सिंगो मुलुकमा यसको प्रभाव पर्ने भएकाले समयमै सम्पन्न र वितरण हुनेगरी सानातिना समस्यालाई समाधान गर्नुपर्छ’, उनले भने ।

उर्जामन्त्री खड्काले सन् २०३५ सम्म नेपालमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएकाले उक्त लक्ष्य पुरा गर्न आयोजना, प्रमुख जिल्ला अधिकारी र लगानी वोर्डको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे । उनले स्थानीय जनप्रतिनिधी, निर्माण कम्पनीसँग सहकार्य गरेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

“आयोजनालाई अगाडि बढाउनका लागि कहाँ कहाँ अवरोध छन्, त्यससँग सम्बन्धित व्यक्तिहरु को को हुन्, त्यसको पहिचान गरेर प्रमुख जिल्ला अधिकारीले समाधान गर्न लाग्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु,”उनले भने ।

स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सरकारले समेत सहयोग गर्नै उनको भनाई थियो । अरुण तेस्रो जलविद्युत आयोजनालाई अगाडि बढाउने कुरामा प्रधानमन्त्रीको समेत चासो र चिन्ता रहेकाले यसलाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गरे । उनले उर्जा क्षेत्रको समग्र विकासका लागि निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

सोही अवसरमा उर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सहयोग गर्ने बताए । ऐलानी जग्गा प्राप्तीका लागि मन्त्रीपरिषद्मा प्रस्ताव लैजाने गरिएको भन्दै त्यस्ता जग्गा भए लगानी वोर्डमार्फत मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्