८.१७ प्रतिशतले बढ्याे निर्जीवन बीमा व्यवसाय, किन खुम्चियाे जीवन बीमाकाे बजार ?
काठमाडौं । बीमा व्यवसायमा आर्थिक शिथिलताको संकेत देखिएको छ । नेपाल बीमा प्राधिकरणले हालै उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवको पहिलो महिनामा बीमा कम्पनीहरुले २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए । तर, यो अघिल्लो आवको साउनको तुलनामा २.९९ प्रतिशत कमी हो । चालु आवको साउनमा कम्पनीहरुले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।
साउनमा जीवन बीमा व्यापारमा ५.२६ प्रतिशत संकुचन देखिएको छ । गत आवको साउनमा जीवन बीमा कम्पनीहरुले १९ अर्ब ६० करोड ६९ लाख बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५.२६ प्रतिशत घटेर १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।
समग्र बीमा व्यवसाय घटेपनि साउन महिनामा कम्पनीहरुको नयाँ व्यवसायमा भने २३.५८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो साउनमा कम्पनीहरुले २ अर्ब २९ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही अवधिमा भने यस्तो बीमा शुल्क बढेर २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।
साउनमा कम्पनीहरुको पुरानो व्यापार अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि ९.०९ प्रतिशत घटेर १५ अर्ब ७३ करोड ५१ लाख रुपैयाँ कायम भएको छ । हाल कुल सक्रिया जीवन बीमालेखको संख्या पनि २.२४ प्रतिशत घटेर १ करोड ३७ लाख ७ हजार २५१ वटा कायम भएको छ । अझै पनि आर्थिक शिथिलता कायमै रहेकाले पनि व्यवसायमा खास सुधार हुन नसकेको हो ।
८.१७ प्रतिशत बढ्यो निर्जीवन बीमा व्यापार
साउनमा निर्जीवन बीमा व्यवसायमा भने बढोत्तरी देखिएको छ । अघिल्लो आवको साउनमा कम्पनीहरुले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, चालु आवको सोही महिनामा भने ८.१८ प्रतिशत वृद्धि भई ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीहरुको बीमालेख बिक्री दर पनि १२.८५ प्रतिशत वृद्धि भएको छ। अघिल्लो आवको साउनमा २ लाख १३ हजार ८२८ वटा निर्जीवन बीमालेख बिक्री भएको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने भने २ लाख ४१ हजार ३१४ वटा बिक्री भएका छन् ।
थपिए ५४० कर्मचारी, बीमा क्षेत्रमा साढे ११ हजार कर्मचारी आवद्ध
बीमा क्षेत्रमा एक वर्षको अवधिमा साढे ५ सय जना कर्मचारी थपिएका छन् । अघिल्लो आवको साउनमा बीमा कम्पनीहरुमा कुल ११ हजार १५२ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ५४० जना थपिएका छन् । योसँगै हाल बीमा क्षेत्रमा कुल ११ लाख ६९२ जना कर्मचारी आवद्ध छन् ।
निर्जीवन बीमामा कम्पनीहरुले सबैभन्दा धेरै ५.२७ प्रतिशत कर्मचारी वृद्धि भएको देखिन्छ। अघिल्लो आवको साउनमा निर्जीवन बीमकसँग ५ हजार ५८० जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा भने बढेर २९४ जना थपिएर ५ हजार ८७४ जना पुगेका छन् । यता, जीवन बीमा कम्पनीमा पनि एक वर्षमा २४६ जना कर्मचारी थपिएर ५ हजार ८१८ पुगेको छ ।
यस्तै,कम्पनीहरु व्यवसाय विस्तारका लागि शाखा कार्यालय पनि बढाइरहेका छन् । अघिल्लो साउनमा कम्पनीहरुको देशभर २ हजार ७९९ वटा कार्यालय थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १९३ थपिएका छन् । योसँगै कम्पनीहरुसँग कुल २ हजार ९९२ वटा कार्यालय पुगेका छन् ।
खुम्चियो बीमाको पहुँच
व्यापारसँगै बीमाको पहुँच पनि घटेको देखिन्छ । प्राधिकरणका अनुसार बीमा पहुँचको १.३ प्रतिशत बिन्दुले घटेको छ।
गत वर्षको साउनमा कम्पनीको दायारमा आएको जनसंख्या ४४ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही अवधिमा भने घटेर ४२.७० प्रतिशत कायम भएको छ। यो म्यादी, लघलुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो ।
यस्तै, म्यादि र लघु म्यादी जीवन बीमालेखसहितको बीमा दायरामा आएको जनसंख्या भने ३५.८६ प्रतिशत रहेको छ । तर, अघिल्लो साउनमा भने ३८.५० प्रतिशत थियो ।
म्यादी, लघु म्यादि र वैदेशिक रोजगार बीमालेख बाहेक बीमाको दायरामा खाएको जनसंख्या भने १७.४८ प्रतिशत छ । बीमाको पहुँ सक्रिय बीमालेखकै आधारमा गणना गरिन्छ । तर, साउनमा सक्रिय बीमालेखको संख्या २.२४ प्रतिशत घटेको छ । बीमालेख संख्यामा आएको गिरावटले नै पहुँच घटेको देखिन्छ ।













