अब केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइने
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताएका छन् ।
आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उनको भनाई छ ।
आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर) समेत पठाइसकेको जानकारी दिए । केही खाली रहेका नगर÷गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने मन्त्रीको गुप्ताको भनाई छ ।
करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको भनाइ छ ।
‘नौ–नौ÷दश÷दश वर्षदेखि एकै ठाउँमा रहेर काम गरिरहनुभएका एक हजार २५८ जना कर्मचारीलाई एकैदिन सरुवा गरी विभिन्न ठाउँमा पठाएका छौँ,’ मन्त्री गुप्ताले भने,‘हामी राम्रो तालमेल मिलाएर काम गरिरहेका छौँ । भर्खरै आउनुभएका ३८औँ ब्याचका अफिसर÷अधिकृतहरूलाई पनि पालिकामै पठाएका छौँ ।’
पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपूर पहलकदमी लिइरहेको बताए ।
मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा सङ्घीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि व्यक्त गरे ।













