पुस २१ गतेदेखि आईपीओ निष्काशन गर्दै गार्डियन माइक्रो लाइफ
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस २१ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आईपीओ निष्काशन गर्न लागेको हो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो । त्यसैगरी,कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता सेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सेयर छुट्याएको छ ।
यसमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आइपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीले १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ ।













