साना तथा मझौला कम्पनीलाई आईपीओ निष्कासनको छुट्टै नियमावली लागू, के के छन् व्यवस्था ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

साना तथा मझौला कम्पनीलाई आईपीओ निष्कासनको छुट्टै नियमावली लागू, के के छन् व्यवस्था ?



काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अत्यन्तै खुकुला प्रावधानहरु समेटेर साना तथा मझौला कम्पनीहरुलाई प्रथमिक सेयर निष्काशन गर्न पाइने सुविधा दिएको छ । यसअघि सानो पूँजीका कम्पनीहरुले पनि समान खालको प्रक्रिया पुरा गरेरमात्रै सर्वसाधारणलाई सेयर बेच्न पाउने व्यवसथा थियो ।

पछिल्लो समय फस्टाउन खोजेको नवउद्यम र साना उद्यमीलाई पूँजी बजारबाट पैसा जुटाउने विकल्प तयार पार्न यस प्रकारको व्यवस्था गरिएको हो । बोर्डका पूर्व अध्यक्ष रमेशकुमार हमालले निकै मिहेनत गरे पनि यस प्रकारको कानूनी व्यवस्था लागू गराउन अक्षम भएका थिए ।

अहिले नयाँ अध्यक्ष बनेर आएका सन्तोष नारायण श्रेष्ठले कार्यकालको सुरुमै उक्त कानूनी व्यवस्था लागू गराउन सक्षम भएका छन् । मन्त्री परिषदले हालैमात्र ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१’ स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा जान लागेको हो ।

यो नियमावली आज (माघ ३ गते बिहीबार)देखि गतेबाट लागू भएको हो । योसँगै साना तथा मझौला कम्पनी ‘एमएमइज प्लेटफर्म’मा प्रवेश गर्ने भएका हुन् ।

नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्गलाई पत्राचार गरिएको छ ।

सबै क्षेत्रका साना तथा मझौला कम्पनीलाई आईपीओ निष्कासनमा प्रोत्साहन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियमावली बनाएको हो। बोर्डका अनुसार बढीमा २५ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले यो नियमावली अनुसार आईपीओ निष्कासन गर्न सक्नेछन् ।

साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्ने छ । बोर्डले यसअघि तयार पारेको मस्यौदामा न्यूनतम साढे दुई सय कित्ता आवेदन दिनुपर्ने उल्लेख थियो ।

सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ ।

कम्पनीले जारी पुँजीको ३० प्रतिशत भन्दा घटी र ४९ प्रतिशत भन्दा बढी नहसने गरी सेयर निष्कासन गर्न सक्नेछन् । सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएर कारोबार सञ्चालन गरेको १ वर्ष पुरा गरेको, मर्चेन्ट बैंकर र योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको धितोपत्र सर्वसाधारणलाई धितोपत्र बाँडफाँट भएको मितिले तीन वर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाइने छैन ।

रेटिङ आवश्यक परेमा बोर्डले रेटिङ गराउन निर्देशन दिन सक्नेछ । रेटिङ नगरी पनि सेयर निष्कासन गर्न सक्नेछ । सेबोनबाट सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरण स्वीकृत भएको मितिबाट २ महिना भित्र धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्