सिंगटी हाइड्रोले बेच्यो साढे ४३ करोडको बिजुली, कति कमायो नाफा ?
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले नाफामा उल्लेख्य सुधार गरेको छ । ६ महिनामै कम्पनीले १४ करोड बढी नाफा आर्जन गरेको छ ।
कम्पनीले आइतबार निष्कासन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीले १४ करोड २८ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासमा भने कम्पनी ४२ लाख २८ हजार रुपैयाँ नोक्सानीमा थियो ।
६ महिनामा कम्पनीले ४३ करोड ६७ लाख १२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । जुन गत आवको तुलनामा भने १५३.८३ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्म भने १७ करोड २० लाख रुपैयाँ बराबरको मात्रै विद्युत बिक्री गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको संचालन आम्दानी पनि १६ करोड ८६ लाख रुपैयाँबाट बढेर ४२ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ९.८५ रुपैयाँ कायम भएको छ । जबिक, गत वर्षको सोही अवधिमा भने ऋणात्मक थियो । यता, प्रतिसेयर नेटवर्थ पनि १०९.२८ रुपैयाँ छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने २६ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।













