३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु, साढे ६ अर्ब लगानी लाग्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

३७ मेगावाटको माथिल्लो म्याग्दी जलविद्युत निर्माण सुरु, साढे ६ अर्ब लगानी लाग्ने



काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रवर्द्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने ४ किलोमिटर लामो सुरुङ निर्माणका लागि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले शिलान्यास गरे ।

बि.स २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु गरिएको छ । आयोजनाका अनुसार म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँच मार्गले जोडेको छ ।

माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत् आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारवाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हँुदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ ।

कुल ६ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक र नबिल बैंकको ५ अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५. दशमलव सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुनेछ ।

उत्पादित विद्युत् विद्युतगृहदेखि ९ दशमलव दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सब स्टेसनमा केन्द्रीय ग्रिडमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरण मार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्