१ कार्तिक २०८३, आइतबार

नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको तयारी तिब्र, चार देशका व्यवसायीले गरे स्टल बुकिङ



काठमाडाैं । आगामी वैशाख २५ गतेदेखि काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुन गइरहेको १०औं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ को तयारी तिब्र रुपमा भइरहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले गत चैत ११ गतेदेखि स्टल बुकिङ खुला गरेकोमा अहिलेसम्म भारत, चीन, पाकिस्तान र बङ्गलादेशका व्यवसायीहरुले स्टल बुकिङ गरेका छन्।

यस्तै वस्तुगत संघका स्टलहरु समेत बुकिङ भइसकेको महासंघले जनाएको छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशका क्रेताहरुलाई आमन्त्रण गरिएको थियो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा ‘क्यालेन्डर इभेन्ट’ का रूपमा उक्त मेला आयोजना हुन लागेको हो।

मेलामा ३ सयभन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवा प्रर्दशनी गरिने छ भने मुख्य आकर्षणमा मेड इन नेपाल शो, हस्तकला उत्पादन, वस्तुगत संघका उत्पादन साथै चार पाङ्ग्रे र दुई पाङ्ग्रे विद्युतीय गाडी (ईभी) समेत राखिने छ ।

यस्तै मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिने छन् ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब २० हजार अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा गरिएकाे छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रर्वद्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न सघाउ पुर्‍याउने महासंघको विश्वास छ ।

मेलामा ज्येष्ठ नागरिक तथा फरक हिसाबले सक्षम नागरिकलाई निःशुल्क तथा विद्यार्थीहरूलाई प्रवेशपत्रका आधारमा ५० प्रतिशत प्रवेश छुटको व्यवस्था गरिएको छ ।