सरकारी तलबभत्ता लिने साढे ५ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, के हुन्छ कारबाही ?
काठमाडौं । सरकारबाट तलबभत्ता लिने साढे हजार बढी कर्मचारी तथा पदाधिकारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव सरजु कुमार वैद्यले ती कर्मचारीको विवरणसहितको प्रतिवेदन सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएका छन् । उनले प्रमुख आयुक्त प्रेम कुमार राईलाई संघ, प्रदेश र स्थानीय तहका विवरणसहितको प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदन अनुसार ५ हजार ५०४ कर्मचारी र पदाधिकारीले सम्पत्ति विवरण बुझाएका छैनन् ।
संघीय तहका ४ लाख ८८ हजार २८० मध्ये ४ लाख ८३ हजार ६८७ भने सम्पत्ति विवरण बुझाएका छन् । यस्तै, प्रदेशका १९ हजार ८३४ मध्ये १९ हजार ३५५ र स्थानीय तहका २ लाख ७३ हजार २३९ मध्ये २ लाख ७२ हजार ८०७ जनाले सम्पत्ति विवरण बुझाएका छन् ।
भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पदमा बसेकाले हरेक आर्थिक वर्षको अन्त्यपछि ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ । त्यसो नगर्नेप्रति कानुनी कारबाही हुने व्यवस्था छ । भ्रष्टाचार निवरण ऐन अनुसर सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि ५ हजार रुपैयाँ जरिबाना हुन्छ ।















