धनगढीमा दिगोको नयाँ शोरुमको सुरुवात
काठमाडौं । दिगो ग्रुपले पश्चिम नेपालमा आफ्नो उपस्थिति सुदृढ बनाउने उद्देश्यले धनगढीमा ख्वाजा ट्रेडर्सलाई अधिकारिक बिक्रेता नियुक्त गरेको छ ।
नयाँ शोरुमको उद्घाटनसँगै दिगोले सुदूरपश्चिम क्षेत्रका ग्राहकलाई हरित तथा नविनतम विद्युतीय सवारी साधनहरू सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ।
ख्वाजा ट्रेडर्सद्वारा सञ्चालित उक्त शोरुममा दिगोले नेपालभर बिक्री वितरण गर्दै आएको डिएफएसके ब्रान्ड अन्तर्गतका विद्युतीय सवारी साधनहरू प्रदर्शन तथा बिक्री गरिनेछ। यसमा डिएफएसके डाँफे भ्यानको ११ सिट क्षमताको विद्युतीय मोडेलका साथै १४, १६ र १९ सिट क्षमताका माइक्रो बसहरू उपलब्ध हुनेछन्, जुन सामूहिक यातायातलाई दिगो, सुलभ र किफायती बनाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ।
शोरुम उद्घाटन समारोहका अवसरमा बोल्दै दिगोका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने : ”धनगढी केवल भौगोलिक दृष्टिले मात्रै हैन, सम्भावनाको केन्द्र पनि हो। हामीलाई खुसी छ कि ख्वाजा ट्रेडर्सको साथमा यो सम्भावनालाई मूर्तरूप दिन सकिएको छ। दिगोले देशभर विद्युतीय सवारी साधनको सहज पहुँच पुर्याउने लक्ष्य राखेको छ र यो नयाँ शोरुम त्यसै अभियानको एउटा महत्वपूर्ण अध्याय हो। हामी चाहन्छौं, नेपालका सबै भूभागमा स्वच्छ, किफायती र दिगो यातायात प्रणालीको पहुँच होस् ।”
ख्वाजा ट्रेडर्सका सञ्चालक गुलाम रसुल अन्सारीले धनगढीका लागि यो अवसर विशेष रहेको बताए। ”हामी धनगढी र आसपासका क्षेत्रलाई बिध्युतिय यातायाततर्फ उन्मुख गराउने दिशामा अघि बढ्दैछौं,” उनले भने।
दिगोको यो कदमसँगै सुदूरपश्चिम क्षेत्रका व्यवसायी, शैक्षिक संस्था, पर्यटन क्षेत्र, र सार्वजनिक यातायात क्षेत्रका लागि विद्युतीय सवारी साधनहरूमा लगानी गर्ने वातावरण झनै सहज हुनेछ।












