प्रभु बैंकको सञ्चालक समितिको अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्ष कार्कीले लिए पद तथा गोपनीयताको शपथ



प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको नव नियुक्त अध्यक्षमा किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ ग्रहण समारोह नेपाल राष्ट्र बैंक, बालुवाटारमा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना, डेपुटी गभर्नर बम बहादुर मिश्र, तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको समेत उपस्थिति रहेको थियो। त्यसैगरी प्रभु बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतको पनि सहभागिता थियो।

सपथ ग्रहण पश्चात आजै बसेको ३८१औं सञ्चालक समिति बैठकको अध्यक्षता गर्दै उनले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

कार्की २०८१ माघ २९ मा सम्पन्न प्रभु बैंकको तेईसौं वार्षिक साधारण सभाबाट सर्वसाधारण समूहका शेयरधनीहरूको तर्फबाट सञ्चालकमा निर्वाचित भएका थिए। त्यसपछि, २०८२ असार १९ गते बसेको ३८०औं सञ्चालक समिति बैठकबाट अध्यक्षमा चयन भएका हुन्।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका कार्कीको सरकारी सेवा क्षेत्रमा ३८ वर्षभन्दा बढीको अनुभव छ। उनी लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, र सामान्य प्रशासन मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत रहिसकेका छन्।

त्यस्तै, निजामति किताबखाना, आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। साथै, नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यका रूपमा समेत उनले योगदान पुर्याएका छन्।

प्रभु बैंकले विज्ञप्ति जारी गर्दै कार्कीको समृद्ध कार्यानुभव र नेतृत्व क्षमताले बैंकको व्यवसायिक वृद्धि, गुणस्तरीय सेवा विस्तार र प्रविधिमा आधुनिकीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। बैंकका लागि उनको नेतृत्व शेयरधनी, ग्राहक र समग्र वित्तीय क्षेत्रका लागि गौरवको विषय भएको उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस्