स्विस परराष्ट्रमन्त्रीद्वारा चौधरी ग्रुपको भ्रमण, नेपाली युवाको सीप विकासमा इन्स्योर कार्यक्रमको प्रशंसा
काठमाडौं । स्विट्जरल्यान्डका परराष्ट्रमन्त्री इग्नाजियो क्यासिसले चौधरी ग्रुपको कर्पोरेट मुख्यालय भ्रमण गरेका छन् ।
स्विट्जरल्यान्डका परराष्ट्रमन्त्री तथा उनको उच्चस्तरीय प्रतिनिधिमण्डलले उक्त भ्रमणका क्रममा चौधरी फाउन्डेशन र नेपालस्थित स्विस दूतावासबीचको सहकार्यमा सञ्चालित इन्स्योर कार्यक्रमप्रति कृतज्ञता व्यक्त गर्दै उल्लेखनीय साझेदारीलाई औपचारिक मान्यता दिएको छ।
इन्स्योर (इन्ह्यान्सिङ स्किल फर सस्टेनेबल एण्ड रिवार्डिङ इम्प्लोइमेन्ट) कार्यक्रम स्विस सहयोगमा सञ्चालित प्रमुख पहल हो, जसको उद्देश्य नेपाली युवालाई उद्योग–सम्बन्धी व्यावसायिक सीप र कामको अनुभव प्रदान गर्नु हो।

सार्वजनिक–निजी साझेदारीको उत्कृष्ट उदाहरणका रूपमा, चौधरी ग्रुपले यस कार्यक्रमअन्तर्गत अनुभवजन्य तालिम, इन्टर्नसिप र स्ट्रक्चर्ड एप्रेण्टिससिप अवसरहरू उपलब्ध गराउँदै निजी क्षेत्रको अगुवा भूमिका निर्वाह गरिरहेको छ।
स्विस मन्त्रीले इन्स्योर कार्यक्रमअन्तर्गत चौधरी ग्रुपमा कार्यरत युवाहरूको प्रतिबद्धता, नवप्रवर्तन र उत्साहलाई नजिकबाट अवलोकन गरे। उनले तालिमार्थी, प्रशिक्षक तथा कार्यक्रम संयोजकहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कार्यक्रमको सकारात्मक प्रभावबारे जानकारी लिएका थिए।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा चौधरी फाउन्डेशनका उपाध्यक्ष निर्वाण चौधरीले भने, “स्विस परराष्ट्रमन्त्रीज्यूको भ्रमण हाम्रो साझा विश्वासलाई प्रतिबिम्बित गर्छ – सीप, उद्योग र अन्तर्राष्ट्रिय सहकार्यमार्फत नेपाली युवाहरूको भविष्य उज्यालो बनाउन सकिन्छ। इन्स्योर कार्यक्रम र स्विस दूतावाससँगको सहकार्यले हामीले शिक्षालाई रोजगारीसँग जोड्ने प्रभावशाली पहल गर्न पाएका छौं।”
यो भ्रमणले नेपालको समावेशी विकास र युवाको सीप अभिवृद्धिप्रति स्विस सरकारको निरन्तर प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। साथै, निजी क्षेत्रको योगदानले दीगो, सक्षम जनशक्ति निर्माणमा कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ।













