प्राधिकरणले अघि बढायो ९६० मेगावाट सौर्य र ४९६६ मेगावाट जलविद्युत् परियोजना
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ठूलो स्तरमा नवीकरणीय ऊर्जा उत्पादनका लागि नयाँ परियोजनाहरूको प्रक्रिया अघि बढाएको छ।
हालसम्म ९६० मेगावाट क्षमता बराबरको सौर्य ऊर्जा परियोजनाका लागि आवश्यक कदम चालिएको छ भने आठ कम्पनीसँग १७० मेगावाट सौर्य आयोजना सम्बन्धी विद्युत् खरिद सम्झौता पनि सम्पन्न भइसकेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो कार्यकालका १०० दिन पुगेको अवसरमा यस्ताे जानकारी दिएका हुन् ।
उनका अनुसार जलविद्युत् आयोजनामा पनि ठूलो प्रगति भएको छ। ४,९६६ मेगावाट क्षमताका जलविद्युत् आयोजना अन्तर्गत ग्रीड कनेक्सन एग्रिमेन्टका प्रावधानअनुसार विद्युत् खरिद सम्झौताका प्रक्रिया अगाडि बढाइरहेको छ।
त्यस्तै, प्राधिकरणले मध्य भोटेकोशीमा १०२ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु गर्न लागेको छ। यस आयोजनाको मुख्य सुरुङमा देखिएको पानी चुहिने समस्या समाधान भइसकेको छ। साथै, गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार गरी पूर्ण क्षमतामा पुनः सञ्चालनमा ल्याइएको छ।
अर्थ मन्त्रालयसँगको समन्वयमा प्राधिकरणले दायित्व व्यवस्थापन र तरलता सुधारका लागि १० अर्ब रुपैयाँ बराबरको अल्पकालीन ऋण लिने सैद्धान्तिक स्वीकृति प्राप्त गरेको छ।
त्यसैगरी, उत्पादन, प्रसारण र वितरण प्रणालीको स्तरोन्नती र विस्तारका लागि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने योजना पनि अघि बढाइएको छ।













