१४ प्रतिशत घट्यो जावलाखेल ग्रुपको मदिरा व्यापार, आर्थिक मन्दी र अन्तःशुल्क वृद्धिको असर
काठमाडौं । नेपाली मदिरा उद्योगको ठुलो नाम मानिने जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको मदिरा व्यापारमा पछिल्ला वर्षहरूमा निरन्तर ओरालो लागेको देखिएको छ।
कम्पनीको वितरक शाखा जेजिआई डिस्ट्रिब्युसन प्रालि को सन् २०२४ मा कारोबार १४ प्रतिशतले घटेको ग्रुपले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।
गत वर्ष कम्पनीले ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको जानकारी दिएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य गिरावट हो। चालू आर्थिक वर्षको नौ महिनामा भने जेजिआईले ८ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको बताइएको छ।
सन् २०२२ मा कम्पनीले १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा बिक्री गरेको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले, २०२३ मा घटेर १३ अर्ब ६२ करोड ५० लाखमा सीमित रह्यो।
यो गिरावट सन् २०२४ मा पनि जारी रहँदै कारोबार झनै घटेर ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँमा झरेको देखिन्छ।
यसअघि सन् २०२१ मा कम्पनीको कारोबार १४ अर्ब ५० करोड ३० लाख, सन् २०२० मा ११ अर्ब ३६ करोड ६० लाख र सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँ व्यापार गरेकाे थियाे ।
जेजिआई ग्रुपका अनुसार कारोबार घट्नुको प्रमुख कारण आर्थिक मन्दी तथा सरकारद्वारा वर्षेनी बढाउँदै आएको अन्तःशुल्क हो। बढ्दो करभारले लागत वृद्धि गराएको र यसले बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपेको कम्पनीको भनाइ छ।
लाभांश वितरण र ऋण रेटिङ
सन् २०२३ मा कम्पनीले नाफाबाट १५२ प्रतिशत लाभांश वितरण गरेको थियो, जबकि सन् २०२२ मा यो दर ६९ प्रतिशत मात्र थियो। यसबीच, कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँको ऋण रेटिङ पनि गराएको छ।
जेजिआई, जावलाखेल ग्रुपको मदिरा तथा पेय पदार्थको प्रमुख वितरक कम्पनी हो, जसले बजारमा विभिन्न ब्रान्डहरू आपूर्ति गर्दै आएको छ।













