प्रधानमन्त्रीको स्पेन भ्रमणबारे भ्रामक प्रचारप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसम्बन्धी केही भ्रामक र तथ्यहीन सामग्री प्रचारमा आएकोप्रति परराष्ट्र मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्पेनको सेभिया सहरमा सम्पन्न ‘विकासका लागि वित्त’ शीर्षक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको सन्दर्भमा अनावश्यक र गलत प्रचार भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले २०२५ जुन ३० देखि जुलाई ४ सम्म सम्मेलनमा सहभागिता जनाएको हो, र उक्त प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसकेका छन्।”
मन्त्रालयले यस्तो भ्रम फैलाउने प्रयासप्रति चिन्ता व्यक्त गर्दै स्पष्ट पारेको छ कि अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक पर्ने अवस्थामा सरकारले स्थापित मान्यता, मितव्ययिता, राष्ट्रहित र औपचारिक प्रक्रियालाई आधार मानेर प्रतिनिधिमण्डल पठाउने निर्णय मन्त्रिपरिषद् स्तरबाट हुने गर्छ।
सम्मेलनमा नेपालको सहभागिता, विभिन्न सत्रहरूमा प्रस्तुत विचार, नेतृत्वदायी भूमिका, द्विपक्षीय तथा बहुपक्षीय भेटघाट र त्यसका उपलब्धिहरूका सम्बन्धमा विस्तृत विवरण परराष्ट्र मन्त्रालय तथा अन्य आधिकारिक स्रोतबाट पहिल्यै सार्वजनिक भइसकेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयले भ्रमपूर्ण र तथ्यहीन प्रचारप्रति सजग रहन सबैलाई आग्रह गर्दै यस्ता प्रचारमा विश्वास नगर्न र तथ्य प्रमाणका आधारमा मात्रै धारणा बनाइदिन सम्बन्धित पक्षहरूसँग अनुरोध गरेको छ।
















