नेपालको मानव संसाधन विकासका लागि जापानले ५३ करोडभन्दा बढीको अनुदान सहायता प्रदान गर्ने
काठमाडाैं । जापान सरकारले नेपालको मानव संसाधन विकासमा टेवा पुर्याउने उद्देश्यले करिब ५३ करोड ७० लाख रुपैयाँ बराबरको अनुदान सहायता प्रदान गर्ने भएको छ।
‘जापानिज ग्रान्ट एड फर ह्युमन रिसोर्स डिभलपमेन्ट स्कलरशिप’ परियोजनामार्फत यो सहायता नेपाल सरकारलाई प्रदान गरिनेछ।
बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा जापानी राजदूत मैदा तोरु र अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले अनुदान सम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका हुन् ।
जेडीएस परियोजना नेपालको सरकारी सेवामा कार्यरत युवा र आशास्पद कर्मचारीलाई जापानका उत्कृष्ट विश्वविद्यालयमा अध्ययन गर्न छात्रवृत्तिको अवसर उपलब्ध गराउने उद्देश्यले अघि बढाइएको हो। यो परियोजनाअन्तर्गत दुई वर्षे मास्टर्स डिग्री र तीन वर्षे डक्टरेट डिग्रीका लागि छात्रवृत्ति दिइन्छ।
यस परियोजना सुरु भएपछि हालसम्म १८७ जना नेपाली सरकारी अधिकारी छात्रवृत्तिका लागि छनोट भइसकेका छन्। यसै सन्दर्भमा, हालै सम्पन्न छनोट प्रक्रियामार्फत थप २२ जना सरकारी कर्मचारी सन् २०२५ को अगस्टदेखि जापानमा अध्ययन गर्न जाने पक्का भएको छ।















