घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बालुवाटार डाकियाे, ‘एक्सन’ लिने प्रधानमन्त्रीको तयारी
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । उनलाई प्रधानमन्त्री ओलीले झापाबाट फर्के लगत्तै प्रधानमन्त्री निवास बालुवाटार बोलाएका हुन् ।
छ महिनाअघि भएको घुस प्रकरणको अडियो हालै मात्र सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा आएका हुन्। यो घटनाका बारेमा पुस महिनामै भएको भए पनि अडियो केही दिनअघि मात्र बाहिरिएको हो। सो प्रकरण अहिले संघीय संसदमा समेत प्रवेश गरिसकेको छ।
प्रधानमन्त्री ओलीले मन्त्री गुप्ताविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारी गरेका छन्। उता, गुप्ताले पार्टीले निर्देशन दिएमा आफू छानबिनका लागि तयार रहेको जनाएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यो प्रकरणसम्बन्धी अडियो र घुसको रकमसँग सम्बन्धित विवरणहरू, जस्तै नोटमा उल्लेख गरिएको नम्बर र डायरी पनि बुझाइएको छ।















