व्यवसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण र म्यादी जीवन बीमाशुल्क अनिवार्य समावेश गर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघुजीवन बीमा कम्पनीहरूलाई व्यवसायिक लक्ष्य निर्धारण गर्दा नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएको छ।
प्राधिकरणले नयाँ आर्थिक वर्षका लागि जारी परिपत्रमार्फत बीमकहरूले आफ्ना कर्मचारी, शाखा, उपशाखा, प्रादेशिक कार्यालय तथा विभागहरूलाई दिने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य निर्धारण गर्दा पहिलो बीमाशुल्कसँगै नवीकरण र म्यादी बीमाशुल्क पनि अनिवार्यरूपमा समेट्नुपर्ने स्पष्ट पारेको हो।
बीमकहरू व्यवसायिक लक्ष्य निर्धारणमा सावधिक तथा एकल बीमाशुल्कमा मात्र केन्द्रित हुने प्रवृत्तिका कारण, बीमा सेवा गुणस्तरीय र सर्वसुलभ हुन नसकेको भन्ने गुनासाहरू आएको प्राधिकरणको भनाइ छ।
विशेषतः, बीमकहरू ठूलो बीमाशुल्क संकलन गर्न तर्फ बढी केन्द्रित हुँदा न्यून आय वर्गमा बीमाको पहुँच पुग्न नसकेको, बीमा अवधि नपुग्दै बीमालेख समर्पण वा व्यतित हुने समस्या देखिएको, र यसले दीर्घकालीन बीमा सुरक्षामा चुनौती थपिएको कारणले सो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको नयाँ निर्देशनले बीमा कम्पनीहरूलाई सन्तुलित, दिगो र सर्वसुलभ बीमा सेवा प्रवाह गर्न उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ।













