हिमालयन बैंकको एफपीओ आजदेखि खुला, प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख कित्ता शेयर निष्कासन
काठमाडाैं । हिमालयन बैंक लिमिटेडले आजदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्दैछ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार कुल जारी पूँजीको न्यूनतम ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि छुट्याउनु पर्ने प्रावधानअनुसार बैंकले यो एफपीओ ल्याउन लागेको हो।
हाल बैंकको कुल चुक्ता पूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ। यसमा ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको र २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको छ।
सर्वसाधारणको स्वामित्व हिस्सा ३० प्रतिशत पुर्याउनका लागि बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी कुल १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर एफपीओ मार्फत निष्कासन गर्न लागेको हो। यस एफपीओको कुल रकम १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबर हुनेछ।
एफपीओमा न्यूनतम १० कित्ताबाट आवेदन दिन सकिनेछ भने चाहनेले अधिकतम सबै कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्।
आवेदनको अन्तिम म्याद छिटोमा साउन ४ गते हुनेछ, तर यदि त्यो समयभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि असार १४ गतेसम्म लम्बिन सक्नेछ।
यस एफपीओको निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।













