७ श्रावण २०८३, बिहिबार

कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर सार्वजनिक, विशेष सापटी ६.२५ प्रतिशतमै



काठमाडाैं । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ ।

कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२ साल साउन १ गतेदेखि लागू हुने गरी कोषले सञ्चयकर्ताहरूलाई सञ्चय कोष रकम र निवृत्तभरण कोष रकममा प्रदान गर्ने वार्षिक ब्याजदर ५ः०० निर्धारण गरिएको हाे ।

यसैगरी, कोषले सञ्चयकर्ताहरूलाई प्रदान गर्ने सापटीहरूमा लिने ब्याजदरमध्ये विशेष सापटीमा ६.२५ प्रतिशत, घर सापटी, शैक्षिक सापटी र घर मर्मत सापटीमा ७.२५ (सात दशमलव दुई पाँच) प्रतिशत र जग्गा खरिद सापटी तथा सरल सापटीमा ७.५० (सात दशमलव पाँच शून्य) प्रतिशत निर्धारण गरिएको छ।

विशेष सापटी बाहेकका धितोमा आधारित सापटीको ब्याज नियमित रूपमा चुक्ता गर्ने सञ्चयकर्ताृहरूको हकमा ०.२५ (शून्य दशमलव दुई पाँच) प्रतिशतले छूट दिने व्यवस्था गरिएको छ । कोषले सञ्चयकर्ताहरूलाई घर निर्माण गर्न र घर तथा जग्गा खरिदका लागि रू. एक करोडसम्म र घर मर्मत गर्नका लागि रू. ३० लाखसम्म सापटी प्रदान गर्ने गरेको छ ।

यस्तै, कोषले सञ्चयकर्ता स्वयम् वा पति÷पत्नी वा छोरा÷छोरीलाई उच्च शिक्षा अध्ययन गर्ने÷गराउने प्रयोजनका लागि शैक्षिक सापटी रू. ४० लाखसम्म र सञ्चयकर्ताको सेवाअवधिमा भैपरी आउने कार्यका लागि दिइने सरल सापटी रू. ६० लाखसम्म प्रदान गर्दै आएको छ ।

साथै, कोषले सञ्चयकर्ताहरूको खातामा जम्मा भएको रकमको सुरक्षणमा ९० प्रतिशतसम्मको रकम विशेष सापटीको रूपमा प्रदान गर्ने गरेको छ ।

कोषबाट चालू आर्थिक वर्षमा १ लाख ५८ हजार ३४४ सञ्चयकर्ताले विशेष सापटी, १ लाख १४ हजार ४५६ सञ्चयकर्ताले कोष भुक्तानी, २ हजार ९२६ सञ्चयकर्ताले धितोमा आधारित सापटी, २५ हजार २९८ सञ्चयकर्ताले सामाजिक सुरक्षा सुविधा र १ हजार ७९१ सञ्चयकर्ताले योगदानमा आधारित निवृत्तभरण भुक्तानी लिएका छन् ।

काठमाडौं उपत्यका सहित सातै प्रदेशमा रहेका कोषका शाखा कार्यालय र सेवा केन्द्रहरू मार्फत सञ्चयकर्ताहरूलाई विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरल सापटी, घर मर्मत सापटी र जग्गा खरिद सापटी प्रदान गर्ने कार्य हुँदै आएको छ ।

हाल कोषमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सार्वजनिक संस्थान र सङ्गठित क्षेत्र तथा सामुदायिक एवम् संस्थागत विद्यालयतर्फका गरी करिव ५ लाख ८० हजार सञ्चयकर्ता र करिव ९९ हजार ३९१ योगदानकर्ता गरी कूल ६ लाख ७९ हजार ३९१ सञ्चयकर्ता र योगदानकर्ताहरू आवद्ध रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्