ब्रोकर नम्बर ३ अरुण सेक्युरिटिजले सुरु गर्यो नयाँ टीएमएस, अब मार्जिन कारोबारसहित आधुनिक सुविधा
काठमाडौं। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी नियमावली २०६४ को छैठौं संशोधनसँगै २० करोड रुपैयाँ चुक्ता पुँजी भएका सबै ब्रोकरलाई मार्जिन लेन्डिङ सेवा प्रदान गर्ने व्यवस्था गरेपछि ब्रोकर नम्बर ३० का रूपमा रहेका अरुण सेक्युरिटिजले नयाँ सेवा सञ्चालनमा ल्याएको छ।
अबदेखि अरुण सेक्युरिटिजले डीजीहबको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) एट्रेड मार्फत सेवा दिने भएको छ, जसमा सेयर खरिदबिक्रीसँगै लगानीकर्ताले मार्जिन कारोबार सुविधा समेत पाउनेछन्।
यससँगै, लगानीकर्ताले सेयर बिक्री गरेलगत्तै सोही रकम बराबरको कारोबार लिमिट स्वतः प्राप्त गर्न सक्नेछन्, जुन पहिलेको नेप्सेको टीएमएसमा सम्भव थिएन।
करिब २ लाख लगानीकर्तालाई सेवा दिइरहेको अरुण सेक्युरिटिजले आजदेखि नेप्से अन्तर्गतको टीएमएसबाट सम्झौता तोडेर डीजीहबको सिस्टममा कारोबार सुरु गरेको हो।
वेब, डेस्कटप र मोबाइल संस्करणमा उपलब्ध एट्रेड टीएमएसमार्फत प्रयोगकर्ताले आफ्नो पोर्टफोलियो, लेजर, रियल टाइम मार्केट डेप्थ, अर्डर बास्केट, सेयर अलर्ट, मल्टी विन्डो, मल्टी एक्सचेन्ज सुविधासहित कारोबार गर्न सक्नेछन्।
साथै, लेनदेनको पारदर्शिता, डेटा सुरक्षा, गोपनीयता र रियल टाइम अपडेट प्रणालीमा समेत विशेष प्राथमिकता दिइएको छ। लगानीकर्ताले अब सजिलो, सुरक्षित र आधुनिक डिजिटल माध्यमबाट सेयर कारोबार गर्न पाउनेछन्।













