८ श्रावण २०८३, शुक्रबार

धितोपत्र बजार सुदृढ गर्न सेबोनको सातसूत्रीय योजना, के छन् मुख्य बुँदाहरू ?



काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास, विस्तार तथा सुधार गर्ने उद्देश्यले विभिन्न रणनीतिहरू सार्वजनिक गरेको छ।

बोर्डले सात प्रमुख बुँदामा केन्द्रित रहेर बजार सुदृढीकरणको खाका तयार पारेको हाे। सबैभन्दा पहिले, बोर्डले कानूनी ढाँचा सुदृढ पार्ने तयारी गरेको छ। अन्तर्राष्ट्रिय सिद्धान्त तथा मापदण्डअनुसार धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी कानूनी व्यवस्था परिमार्जन गरी प्रणालीलाई अझ बलियो बनाइने बाेर्डकाे नीति तथा कार्यक्रममा उल्लेख छ।

बोर्ड स्वयं तथा बजारसँग सम्बन्धित सेवा प्रदायक संस्थाहरूको संरचनात्मक सुधार र क्षमतावृद्धि गर्दै संस्थागत ढाँचा मजबुत पारिने योजना सार्वजनिक गरिएको छ।

धितोपत्र बजारमा हुने कानून विपरीतका गतिविधि र दुरुपयोगलाई नियन्त्रण गर्न सशक्त नियमन प्रणाली ल्याइनेछ। साथै, यस्ता गतिविधिमा संलग्न कसूरदारलाई कानुनी कारवाहीको दायरामा ल्याइने सेबोनको स्पष्ट धारणा छ।

धितोपत्र बजारमा विविधता थप्न विशेष जोड दिइनेछ। नयाँ वित्तीय औजारको विकास र विस्तारसँगै क्षेत्रगत विविधता समेत ल्याएर बजारलाई बहुआयामिक बनाइने योजना छ।

बोर्डले बजारको प्रणालीगत जोखिम न्यूनीकरण गर्ने र लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राख्दै जनविश्वास अभिवृद्धि गर्ने प्रयास गर्ने जनाएकाे छ।

यस्तै सूचना प्रविधिको प्रयोगलाई अझ प्रभावकारी, स्तरीय र गतिशील बनाउन बोर्ड तथा बजारसँग सम्बन्धित पूर्वाधारको विकासमा लगानी गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ।

बोर्डले देशव्यापी पुँजी बजार शिक्षा कार्यक्रम लाई निरन्तरता दिँदै लगानीकर्ताको साक्षरता र सचेतना अभिवृद्धि गर्ने बताएको छ। साथै, बजारसम्बन्धी अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिइने जनाएकाे छ।


प्रतिक्रिया दिनुहोस्