इनड्राइभद्वारा नेपालमा बाढी र पहिरोबाट पीडितलाई घर हस्तान्तरण
काठमाडौं । विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म, इनड्राइभले बाढी र पहिरोबाट विस्थापित परिवारहरूका लागि तयार पारिएका दिगो प्रकृतिका नयाँ घरहरूको साँचो आधिकारिक रूपमा हस्तान्तरण गरेको छ ।
यस पहल अन्तर्गत इनड्राइभले राष्ट्रिय विपद् व्यवस्थापन केन्द्रसँगको सहकार्यमा निर्माण गरिएका पाँचओटा घरको साँचो सम्बन्धित परिवारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गर्यो । साथै, यस अभियानमा, प्रभावित भएका घरपरिवारहरूलाई अत्यावश्यक सामग्रीहरूको वितरण पनि गरिएको छ ।
नवनिर्मित घरहरू बाढी र पहिरो पीडितहरूको विशिष्ट आवश्यकताहरूलाई सम्बोधन गर्न स्थानीय समुदायसँगको परामर्शमा तयार गरिएको हो । बाँस र माटो प्रयोग गरेर निर्माण गरिएका घरहरूले दिगोपन र सांस्कृतिक प्रासंगिकता दुवैप्रति प्रतिबद्धता दर्शाउँछ, जसले परिवारहरूलाई स्थानीय परिस्थितिहरूको सामना गर्न डिजाइन गरिएको टिकाउ, र वातावरणीयरूपमा उपयुक्त संरचनाहरू प्रदान गर्दछ ।
इनड्राइभका एपीएसी कम्युनिकेसन लिड पवित नन्दा आनन्दले इनड्राइभमा हाम्रो मिसन केवल राइड सर्भिसमा मात्र सीमित छैन, यो दीर्घकालीन, सार्थक, अर्थपूर्ण र दिगो परिवर्तन सिर्जना गर्ने यात्रासँग सम्बन्धित रहेकाे बताए ।
‘यो सहकार्यमार्फत हामी केवल बसोबासको व्यवस्था मात्र गरिरहेका छैनौं, बाढी र पहिरोबाट सबैथोक गुमाएका परिवारहरूमा स्थिरता, सम्मान र आशाको पुनःस्थापना गरिरहेका छौं । हामी उनीहरूलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने यात्रामा स्वतन्त्र निर्णय लिने अधिकार र नयाँ आत्मविश्वासका साथ सँगै उभिन पाउँदा गर्व गर्छौ’ उनले भने ।
उनले इनड्राइभले सदैव समुदाय-केन्द्रित दृष्टिकोणलाई प्राथमिकता दिँदै आएको र यस्तै साझेदारीहरू मार्फत समावेशी, सुरक्षित र सशक्त समुदाय निर्माण गर्न कटिवद्ध रहेको जनाएकाे बताए ।
इनड्राइभमा एपीएसीका रिजनल डाइरेक्टर मार्क टलीले इनड्राइभको मुख्य उद्देश्य सामाजिक अन्यायलाई चुनौती दिनु भन्दै यो पहल सोही उद्देश्यको प्रत्यक्ष प्रतिबिम्ब रहेकाे बताए ।
‘हाम्रो लक्ष्य सन् २०३० सम्ममा एक अर्ब मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो, त्यो पनि समुदाय–संचालित र दिगो कार्यहरूमार्फत । यी बनाइएका घरहरू केवल बाँस र माटोले बनेका संरचनाहरू मात्र नभई, घरवार गुमाएका परिवारहरूका लागि पुनः जीवन सुरु गर्न सक्ने सुरक्षित स्थान हुन् जसले उनीहरूलाई फेरि आत्मबल दिनेछ ।’ उनले भने ‘हामीले सम्पूर्ण निर्माण प्रक्रिया स्थानीय समुदायसँगको निकट समन्वयमा सम्पन्न गरेका छौं, जसले हरेक परिवारलाई आफ्नो आवश्यकता अनुसारको घर छनोट गर्ने स्वतन्त्रता दिएको छ । यस प्रक्रियाले मानिसहरूकै आवाज र चाहनालाई प्राथमिकतामा राखेको छ ।’













