१२ श्रावण २०८३, मंगलबार

मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सम्पूर्ण मधेश प्रदेशलाई यस्तो घोषणाको निर्णय गरेको हो।

यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर निरन्तर खडेरी र पानीको चरम अभावका कारण संघीय सरकारले थप कदमस्वरूप विपद् संकटग्रस्त घोषणा गरेको एक मन्त्रीले बताए ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा १ बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिले तीन महिनाको अवधिका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको हाे।

मधेश प्रदेशमा हाल गम्भीर खडेरी र सुक्खा को अवस्था छ। लगातार पानी नपरेका कारण खानेपानी तथा सिंचाइ प्रणाली प्रभावित भएका छन्। भूमिगत जलस्रोतहरू इनार, ट्युबवेल जस्ता संरचनाहरूमा पानी नआएपछि स्थानीयहरू दैनिक जीवनमा समस्या भोगिरहेका छन्।