सेयर खाता अपडेट नगरे कारवाही, पाँच वर्षदेखि निष्क्रिय खाता स्थगनको तयारी
काठमाडौं । सेयर कारोबारका लागि खोलिएको खातामा यदि लामो समयदेखि सेयर छैन वा पाँच वर्षदेखि नवीकरण गरिएको छैन भने अब ती खाता स्थगन वा बन्द हुने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२–८३ का लागि सार्वजनिक गरेको नयाँ नीति मार्फत निष्क्रिय खाता व्यवस्थापनलाई कडाइ गर्ने प्रावधान समावेश गरिएको हो ।
बोर्डका अनुसार यस्तो निष्क्रिय खाता बन्द गर्दा नवीकरण शुल्क असुल गर्न नसके छुट दिने र यदि शुल्क असुल गरिएको छ भने सिडिएससीमा मात्र बुझाउने व्यवस्था लागू गरिनेछ।
बोर्डले सिडिएससीलाई विद्यमान नियम परिमार्जन गरी सम्बन्धित विनियम संशोधन प्रस्ताव पेश गर्न निर्देशन दिइसकेको छ। यसले निष्क्रिय खाताको व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै, सेयर बजारमा कार्यक्षमता र पारदर्शिता बढाउने अपेक्षा गरिएको छ।













