तीन वर्ष लामो वार्तापछि भारत र बेलायतबीच ऐतिहासिक व्यापार सम्झौतामा हस्ताक्षर हुँदै
एजेन्सी । भारत र बेलायतबीच एक ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ। यस सम्झौताले दुबै देशका वस्तुहरूमा कर कटौती गर्ने र बजार पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ।
यो सम्झौता अनुसार भारतले बेलायती सामानहरू, विशेषगरी ह्विस्की, जिन लगायतका मदिराजन्य पदार्थ र गाडीहरूमा कर घटाउनेछ। यसको सट्टामा बेलायतले भारतबाट कपडा, रत्न तथा अन्य सामानहरू आयात गर्ने बताइएको छ।
करिब तीन वर्ष लामो वार्ता पछि मे महिनामा यो सम्झौता अन्तिम रूपमा निष्कर्षमा पुगेको हो। सम्झौतामा हस्ताक्षर गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत पुगेका छन्।
=बेलायती सरकारले यो सम्झौताबाट देशको अर्थतन्त्रमा वार्षिक ४.८ अर्ब पाउण्डको वृद्धि हुने अपेक्षा गरेको छ। सम्झौताले सन् २०४० सम्ममा २५.५ अर्ब पाउण्ड अतिरिक्त व्यापार वृद्धिको सम्भावना रहेको बताइएको छ। सन् २०२४ मा भारत र बेलायतबीचको आपसी व्यापार ४२.६ अर्ब पाउण्ड रहेको थियो।
तर, सम्झौता लागू हुन अझ कम्तिमा एक वर्ष लाग्न सक्ने अनुमान गरिएको छ, किनकि सम्झौता बेलायती संसदबाट स्वीकृत हुनुपर्नेछ।
प्रधानमन्त्री मोदीले यसलाई “ऐतिहासिक कोसेढुंगा” भन्दै, “महत्त्वाकांक्षी र आपसी हितकारी” सम्झौता भएको बताएका थिए। यो सम्झौताले “दुबै देशको व्यापार, लगानी, रोजगारी, र नवप्रवर्तनमा टेवा पुर्याउने” उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए।
सन् २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो बेलायत भ्रमण हो। बुधबार प्रधानमन्त्री स्टार्मरले यस सम्झौतालाई बेलायतका लागि “ठूलो सफलता” भन्दै स्वागत गरेका छन्।
“यसले बेलायतभर हजारौं रोजगारी सिर्जना गर्नेछ, व्यवसायका लागि नयाँ अवसरहरू खोल्नेछ र आर्थिक वृद्धिमा योगदान पुर्याउनेछ,” उनले भनेका छन्।
यसैगरी, भारतीय इलेक्ट्रिक र हाइब्रिड गाडी निर्माताहरूलाई बेलायती बजारमा पहुँच प्राप्त हुने पनि बताइएको छ।













