सिमेन्ट उद्योगको संकटः एक वर्षमै ९३ करोडभन्दा बढीको निर्यात घट्यो
काठमाडौं । मुलुकको व्यापार घाटा कम गर्न योगदान गर्दै आएको सिमेन्टको निर्यात आर्थिक वर्ष २०८१/८२ मा २४.२९ प्रतिशत घटेको छ ।
गत आर्थिक वर्ष नेपालबाट २ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ८५ करोड २८ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो ।
एक वर्षमा सिमेन्ट निर्यात ९३ कराेड ६१ लाख भन्दा बढीकाे गिरावट आएको हो ।
विभागकाे तथ्यांक अनुसार गत आर्थिक वर्षमा २ अर्ब २१ कराेड ९४ लाख १८ हजार रूपैयाँ बराबरकाे ३ लाख ५६ हजार ४७३ मेट्रिक टन पोर्टल्यान्ड सिमेन्ट निर्यात भएकाे छ भने ६९ कराेड ७३ लाख ७८ हजार रूपैयाँ बराबरकाे ४ लाख ९० हजार २७२ मेट्रिक टन सिमेन्ट क्लंकर निर्यात भएकाे छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने २३ लाख ३२ हजार ३७६ टन पोर्टल्यान्ड सिमेन्ट र पाँच लाख छ हजार ८४१ टन क्लिंकर निर्यात भएको थियो ।
मुलुकको सिमन्ट र सिमेन्टको कच्चा पदार्थ क्लिंकरको बजार भारत मात्र रहेको विभागको तथ्यांकले देखाएको छ । पछिल्ला वर्षमा पाल्पा सिमेन्टको तानसेन, अर्घाखाँची, बालाजी र सर्वोत्तम सिमेन्ट भारत निर्यात हुँदै आएका छन् ।
तर, पछिल्लो समय भारतले समयमै भारतीय गुणस्तर चिह्न ‘ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड’ (बिआइएस) नवीकरण नगरिदिँदा नेपाली सिमेन्टको निर्यातमा भारी गिरावट आइरहेको छ ।













