७ श्रावण २०८३, बिहिबार

विद्युत् पूर्वाधारमा फड्को : हाइटेन्सन स्वीचगेयर्सको व्यापार ७३% बढ्यो, २ अर्बको कर्जा रेटिङ



काठमाडौं । देशको ऊर्जा पूर्वाधारमा बढ्दो लगानीसँगै निजी क्षेत्रका कम्पनीहरू पनि उल्लेखनीय प्रगति गर्दै गएका छन् ।

तीमध्ये उच्च भोल्टेज उपकरण र ट्रान्समिसन लाइन निर्माणमा विशेषज्ञता हासिल गरेको हाइटेन्सन स्वीचगेयर्स प्रालिले पनि व्यापारमा आकर्षक बढोत्तरी गरेको छ ।

कम्पनीले गत वर्ष सन् २०२४ मा आफ्नो व्यवसायलाई एकै वर्षमा ७३.६० प्रतिशत बढाएको देखिन्छ । गत वर्ष कम्पनीले २ अर्ब १२ करोड ९७ लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।

जबकि, कम्पनीले अघिल्लो वर्ष सन् २०२३ मा १ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । व्यापार वृद्धिदर कम्पनीका लागि मात्र होइन, सम्पूर्ण विद्युत् पूर्वाधार निर्माण क्षेत्रमा उत्साहजनक संकेतका रूपमा हेरिएको छ ।

हाइटेन्सन स्वीचगेयर्सले विगत केही वर्षदेखि आफ्नो व्यापारिक ग्राफलाई स्थिर रूपमा उकालो लागिरहेको देखिएको छ । सन् २०२२ मा ५० करोड ६८ लाख रुपैयाँ र सन् २०२१ मा ५३ करोड ७८ लाख रुपैयाँको कारोबार गरेको थियो ।

तर, सन् २०२४ मा अभूतपूर्व वृद्धि देखिए पनि पछिल्लो आर्थिक वर्षको ११ महिनामा भने व्यापार ७५ प्रतिशत घटेर मात्र ४८ करोड रुपैयाँमा झरेको देखिएको छ । यस्तो गिरावटका कारणबारे विस्तृत विवरण सार्वजनिक नगरिए पनि बजारको उतारचढाव, परियोजनाको ढिलाइ, वा प्रतिस्पर्धात्मक कारण हुन सक्ने अनुमान गरिएको छ ।

सन् २०२३ मा कम्पनीले ५.४१ प्रतिशतको खुद नाफा कमाएको थियो भने सन् २०२४ मा यो वृद्धि भइ ५.४४ प्रतिशत पुगेको छ ।
सन् १९८८ मा स्थापना भएको कम्पनीले मुख्यतया इलेक्ट्रिक सप्लाई, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ तथा सबस्टेशन निर्माण, स्वीचगेयर्स, कन्ट्रोल प्यानल तथा ट्रान्समिसन लाइनहरूको कार्य गर्दै आएको छ ।

कम्पनीका अध्यक्ष द्वारिका श्रेष्ठ रहेका छन् । कम्पनी अहिले चार जना स्वामित्वधारीको संयुक्त लगानीमा सञ्चालित छ ।

उद्योग विस्तारका लागि कम्पनीले २ अर्ब रुपैयाँको कर्जा रेटिङ गराएको छ । यसमा १४ करोड रुपैयाँ दीर्घकालीन र १ अर्ब ८६ करोड रुपैयाँ अल्पकालीन कर्जा समावेश छ। यस्ता कर्जाहरू कम्पनीले नयाँ उपकरण खरिद, प्रोजेक्ट विस्तार र वित्तीय प्रवाह सन्तुलनमा प्रयोग गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्