२ अर्ब नाघ्यो सीजी ब्रुअरीको व्यापार, नेपालबाट हङकङ, अमेरिकाहुँदै अष्ट्रेलियासम्म बियर निर्यात
काठमाडौं । सीजी ब्रुअरी नेपाल लिमिटेड (पूर्वनाम सन गोल्ड ब्रुअरी प्रालि) ९ महिनामै सवा दुई अर्ब बढीको व्यापार गरेको छ ।
सन् १९९३ मा चौधरी ग्रुपको बियर उत्पादन शाखाको रूपमा स्थापना भएको यस कम्पनीले सन् २०२५ को ९ महिनौ २ अर्ब २१ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
कम्पनीले गत वर्ष सन् २०२४ मा पनि २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ बढीको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा ३ अर्ब ५ करोड १० लाख, सन् २०२२ मा ४ अर्ब ५४ करोड १० लाख र सन् २०२१ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीले वार्षिक ५ लाख ८५ हजार हेक्टोलिटर बियर उत्पादन गर्ने क्षमता राख्दछ । नेपाल आइस, रियल गोल्ड र मुस्ताङ जस्ता लोकप्रिय ब्रान्डहरू मात्रै देशभर नभई हङकङ, जापान, बेलायत, अमेरिका र अष्ट्रेलिया जस्ता मुलुकहरूमा पनि निर्यात हुँदै आएका छन् ।
नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ जस्ता प्रमुख उत्पादनले सन् २०२० को अन्त्यतिरदेखि नै घरेलु बियर बजारमा बलियो पहिचान बनाएको छ । यी दुई ब्राण्डले गत चार आर्थिक वर्षको अवधिमा कम्पनीको कुल आम्दानीको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्दै आएको छ । जसले बजारमा ती ब्रान्डहरूको लोकप्रियता र ग्राहक पुनःस्मरण कायम रहेको देखाउँछ ।
सीजी ब्रुअरी नेपाललाई चौधरी समूहसँग आबद्ध व्यक्तिहरू र संस्थाहरूले प्रवद्र्धन गरेका छन् । कम्पनीको मुख्य सेयरधनी सीजी फुड्स नेपाल लिमिटेड रहेको छ । जुन चौधरी समूहअन्तर्गतको एफएमसीजी (छिटो खपत हुने उपभोक्ता सामग्री) एकाइ हो ।
२०८१ सालको चैत (मिड–अप्रिल २०२५) सम्म कम्पनीको नवलपरासीमा अवस्थित एक मात्र उत्पादन केन्द्र रहेको छ, जहाँ बियर ब्रुयिङ (उत्पादन) र बोटलिङ (बोतलमा भरिने प्रक्रिया) दुवै हुने गर्छ । ब्रुअरीका लागि आवश्यक माल्ट कम्पनीले युरोप र भारतबाट आयात गर्दछ ।
चामलका फाका, चिनीजस्ता अन्य कच्चा पदार्थ भने नेपाली आपूर्तिकर्ताबाट खरिद गरिने कम्पनीले जनाएको छ । कम्पनीको व्यापक वितरण सञ्जाल रहेको छ, जसमा ३०० डिलर र ५३ हजार खुद्रा विक्रेता (रिटेलर) समावेश छन् । यसले देशको कुनाकाप्चासम्म बियर पु¥याउने काममा कम्पनीलाई सहज बनाएको छ ।
नेपालमा उत्पादित र विश्व बजारमा निर्यात भइरहेको यस कम्पनीको ब्रान्डले घरेलु बियर उद्योगमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली उत्पादनको उपस्थिति बढाउँदै लगेको छ ।
डेढ अर्बको कर्जाका लागि रेटिङ
कम्पनीले डेढ अर्ब बढी कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको हो ।
इक्रा नेपालबाट सो कर्जाका लागि कम्पनीले ‘ईक्रा एनपी ए फोर प्लस’ रेटिङ पाएको हो । यो रेटिङले कम्पनीले छोटो अवधिको वित्तीय दायित्व पूरा गर्ने सन्तोषजनक क्षमता रहेको संकेत गर्दछ, यद्यपि ती क्षमतामा जोखिम पनि रहने सम्भावना हुन्छ ।
यो रेटिङ पुनः पुष्टि हुनु कम्पनीको सञ्चालन, वित्तीय अवस्था, बजारमा स्थापित उपस्थिति तथा चौधरी समूहको समर्थनप्रति संस्थागत लगानीकर्ताहरूको विश्वास दर्शाउने संकेतको रूपमा लिइएको छ ।
सीजी ब्रुअरी नेपालले अल्कोहोलिक पेय पदार्थ उत्पादनमा दुई दशकभन्दा बढीको अनुभव संकलन गरेको छ। कम्पनीको संस्थागत मजबूतीमा नेपालको पुरानो र स्थापित व्यापारिक समूह—चौधरी ग्रुपको प्रवद्र्धन महत्वपूर्ण पक्ष मानिएको छ ।
चौधरी समूह नेपालमा उद्योग, व्यापार, अटोमोबाइल, सिमेण्ट, होटल तथा पर्यटन, रियल इस्टेट र वित्तीय सेवा क्षेत्रसम्म फैलिएर व्यवसाय गर्दै आएको एक अग्रणी कर्पोरेट घराना हो। यस समूहको दीर्घ अनुभव, बजारमा पकड र स्थिर व्यवस्थापन संरचनाले सीजी ब्रुअरीको रेटिङलाई सकारात्मक असर पार्ने पक्षका रूपमा मानिएको छ ।













