सातैभर हरियालीमा रंगियो नेप्से, किन बढ्यो बजारमा लगानीकर्ता सक्रियता ?
काठमाडौंं । नेप्से परिसूचक यस साता हरियालीमा ढाकिएको छ । पाँचै कारोबार दिन उकालो लागेको छ । यो साता बजार ३.९० प्रतिशत अर्थात ११२.०१ अंकको छलाङसँगै २९८२.६४ विन्दुमा पुगेर बन्द भएको छ ।
गत साता २८७०.६३ विन्दुमा अडिएको परिसूचक लगातारको सुधारसँगै यस साता उत्साहजनक रूपमा अगाडि बढेको हो ।
साताको सबै दिन हरियो बन्द हुँदा लगानीकर्ता मनोविज्ञानमा सकारात्मकता देखिएको छ । कारोबार रकम र संख्यामा समेत उल्लेखनीय सुधार देखिएको छ । यसले बजारमा पुनः क्रियाशीलता बढ्दै गएको देखाउँछ ।
खुकुलो मौद्रिक नीति, ब्याजदरमा स्थिरता र बजारमैत्री मनोविज्ञानले लगानीकर्तालाई सक्रिय बनाएको जानकारहरु बताउँछन् । धेरै लगानीकर्ताहरू पुनः बजारमा फर्किएका छन् ।
सूचकहरू सबै उकालो, सबै उपसमूहहरू हरियो
साताको अन्त्यसम्म सेन्सेटिभ इण्डेक्स १६.६४ अंकले बढेर ५१७.१३ अंकको बिन्दुमा पुगेको छ । यता, फ्लोट इण्डेक्स ७.०६ अंकले उकालो लागेको छ ।
यस साता यस्तो इन्डेक्स २०५.३९ अंकको पुगेको छ । यता, सेन्सेटिभ फ्लोट इण्डेक्स ५.४७ अंकले सुधारिएर १७६.९० अंकमा पुगेको छ । यसले बजारको समग्र चाल सकारात्मक दिशामा रहेको देखाउँछ ।
यस साता कारोबार भएका सबै १३ उपसमूहको सूचक हरियो रह्यो । विशेषगरी ‘अन्य’ उपसमूह सबैभन्दा बढी १०.१९ प्रतिशत उकालो लागेको छ ।
अंकको हिसाबले हेर्दा जीवन बीमा उपसमूहको सूचक ६९४.९८ अंकले उकालो लाग्दै सबैभन्दा धेरै बढेको देखियो । यो प्रतिशतमा भने ५.०८ प्रतिशत हुन आउँछ ।
यस्तै, यो साता माइक्रोफाइनान्स समूह ५.०४ प्रतिशत, जलविद्युत ४.९० प्रतिशत, लगानी समूह ४.६६ प्रतिशत, होटल तथा पर्यटन समूह ४.३८ प्रतिशत, निर्जीवन बीमा ४.०५ प्रतिशत, विकास बैंक ३.७७ प्रतिशत, उत्पादन तथा प्रशोधन ३.६६ प्रतिशत, फाइनान्स २.०९ प्रतिशत, व्यापार समूह १.५४ र म्युचुअल फन्ड १.४३ प्रतिशत वृद्धि भएको छ । यता, बैंकिङ्ग उपसमूह भने तुलनात्मक रूपमा कम मात्रै ०.३० प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकम झन्डै ६१ प्रतिशत बढ्यो
गत साता दैनिक औसतमा ११ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थिया । तर, यस साता दैनिक औसत कारोबार रकम १९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो साताको तुलनामा ६०.८८ प्रतिशत बढी हो ।
त्यस्तै, दैनिक औसत कारोबार संख्या ६६.१३ प्रतिशत र सेयर संख्यामा ३२.५८ प्रतिशत प्रतिशत बढेको देखिन्छ । बजारमा लगानीकर्ताको संलग्नता फेरि बढ्दै गएको यस्ता आँकडाले पुष्टि गरेका छन् ।
बजार पूँजीकरणमा २ खर्बको बढोत्तरी
यस साता बजार पूँजीकरण पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो साता ४७ खर्ब ८३ अर्ब रुपैयाँमा सीमित रहेको पूँजीकरण यो साता भने १ खर्ब ९३ अर्ब रुपैयाँले बढेको छ । यस साता कुल ४९ खर्ब ७७ अर्ब रुपैयाँको पुँजीकरण भएको छ ।
लगातार पाँच दिनसम्मको हरियालीसँगै कारोबार रकम, संख्यात्मक गतिविधि र सूचकहरूको समग्र सुधार नै देखिएको छ । यसले बजारमा सकरात्मक आशा बलियो भएको देखिन्छ ।













