एघार महिनापछि नेप्सेले पार गर्यो ३००० अंक, के बजार ‘बुलिश’ भएको हो ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सूचक ११ महिनाभन्दा बढी समयपछि इन्ट्रा–डे कारोबारमा ३००० अंकभन्दा माथि उक्लिएको छ ।
यसअघि अन्तिम पल्ट गत साल भदौ ९ गते नेप्से उक्त स्तरमा पुगेर ओरालो लागेको थियो ।
बन्द सूचकलाई मात्रै हेर्ने हो भने त पोहोरको साउन ३० गते नेप्से परिसूचक ३०००.८१ अंकमा रोकिएको थियो ।
गएको असार १२ मा २५९५ अंकमा बन्द भएको सेयर बजार त्यसयता लगातार उकालो लाग्ने क्रममा छ । यही साउनको १ र ६ गते नेप्सेले निकै फराकिलो ‘जम्प’ गरेको थियो ।
त्यस बाहेकका दिनमा पनि बजार क्रमशः उचालिएको देखिन्छ ।
यो समाचार तयार पार्दासम्म नेप्से ३००२ अंकमा छ । यदी नेप्सेले ३००० अंकको स्तरलाई छिचोलेर उकालो लाग्यो भने उसका लागि ३२०० अंकको त्यही प्रतिरोध सबैभन्दा कठोर बन्न सक्छ, जुन चार वर्ष अघिको भदौमा तयार भएको थियो ।
नेप्सेले ३२२७ अंक पार पर्यो भने ऊ पूर्णतः ‘बूलिश’ बन्ने छ । त्यसपछि उसका हरेक उचाईहरु कीर्तिमानी तय हुने छन् ।
अहिले नै १५.७ प्रतिशतजतिको बृद्धि समेटिसकेको नेप्सेका लागि नयाँ उचाई चुम्नु धेरै कठीन नपर्ने कतिपयको बुझाइ छ । तर नेपाल राष्ट्र बैंकले साउन १५ सम्म बैंकको ब्याज बुझाउन पाइने मिति सारिदिएका कारण सेयर बजारबाट पैसा निकाल्न चाहनेहरु बढेको अवस्थामा चाहीँ बजार केही करेक्सन हुनसक्ने संभावना पनि रहन्छ ।
किनकी, साढे ३ वर्ष अघि पनि यही स्तरमा आएर बजार ओरालो झरेको थियो । ३००० अंकमा नेप्सेको इतिहासले निकै दर्बिलो प्रतिरोधहरु देखाएको छ, जुन सामना गर्न अहिले सेयर बजार पूर्णतः सक्षम पनि देखिएको छ ।













