आठ दिनपछि सेयर बजारको उकालो यात्रामा ब्रेक, कारोबार रकममा ऐतिहासिक कीर्तिमान
काठमाडौं । लगातार आठ कारोबार दिनको उकालो यात्रापछि सेयर बजार घटेको छ । आइतबार बजार दोहोरो अंकमा घटेको हो ।
साताको पहिलो कारोबार दिन बजार १८.४४ अंक घटेको छ । आज बजार परिसूचक २९५८.७१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । ३ हजार १२ अंकको उचाईमा पुगेर बजार तल झरेको हो ।
आज विकास बैंक ६६.७४ अंक, उत्पादन तथा प्रशोधन समूह ६९.५० अंक, व्यापार समूह ५५.६४ अंक र म्युचुअल फन्ड ०.११ अंक वृद्धि भएका छन् । यी बाहेकका अन्य समूह भने राताम्य बनेका छन् ।

आज कारोबारमा आएका मध्ये ६३ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । तर, १८६ वटा कम्पनीको मूल्य भने घटेको छ ।
आज कारोबार रकममा पनि ऐतिहासिक रेकर्ड कायम भएको छ । आज २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
आज शिवम सिमेन्टको सर्वाधिक सेयर किनबेच भएको छ । उक्त दिन कम्पनीको १ अर्ब २ करोड ३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यस्तै, आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ८५ करोड २ लाख, कालिका पावरको ८४ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।














