१ कार्तिक २०८३, आइतबार

आदिवासी समृद्धिका लागि स्थानीय आर्थिक मोडेल अनिवार्य : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातीहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नु पर्नेमा जोड दिए ।

काठमाडौंमा सम्पन्न लोकतान्त्रीक आदिवासी जनजाती महासंघद्धारा आयोजित जातीय घटक संघहरुको बिस्तारित बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

हरेक आदिवासी समुदायहरुको परम्परागत सामाजिक, आर्थिक प्रर्णाली फरक–फरक हुने भएकाले त्यसैसँग मिल्ने परम्परागत प्रर्णालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धीको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा पोखरेलले जोड दिए ।

‘आदिवासी जनजातीको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल हामीले कार्यान्वयनमा ल्याउने गरेका छौं । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिएपनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने,‘प्रत्येक समुदायले लामो समयदेखि अंगिकार गरेको परम्परागत प्रर्णालीलाई आधुनिक विकाससँग अन्तरसम्बन्धित गराएर सबै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातीको आर्थिक समृद्धि टाढा छैन् ।’

हरेक समुदायको सामाजिक विकासलाई भाषा, संस्कृती र सामाजिकताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नु भएका महासचिव पोखरेलले हामीले गर्ने आधुनिक विकासले तिनै चिजलाई एकै साथ अघि बढाउन नसकेकै कारण हाम्रो विकासको मोडेल अपेक्षित प्रभावकारी हुन नसकेको दावी गरे ।

आदिवासीको नीतिगत वकालत गर्ने एमाले पहिलो दल

नेपालका आदिवासी जनजातीलाई पार्टीको नीतिगत रुपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलले बताए ।

इतिहाँसलाई हेर्ने नजर र नेपाली समाजको विवेचना गर्ने दृष्टिकोणबाट एमालेको स्थापना र विकास भएको उनको भनाई थियो ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठले नेपालको इतिहास लेखन र विष्लेषणको नयाँ परम्पराको थालनी गरेपछि नेपालका आदिवासी जनजातीलाई चिन्ने कामको शुरुवात भएको बताएका पोखरेलले त्यसकै जगमा नेपालमा संघीय लोकतान्त्रीक गणतन्त्रको स्थापना भएको जानकारी दिए ।

‘कमरेड पुष्पलालको विरासत बोकेको एमालेले आफ्नो पाँचौ राष्ट्रिय महाधिवेशन मार्फत नेपाली समाजको विवेचना गर्ने क्रममा आदीवासी जनजातीको महत्वपूर्ण पक्षका रुपमा उठाउने काम गरेको छ । जसबाट सरकारी संयन्त्रमा आदीवासी जनजातीको भाषा संस्कृतिको संरक्षण र विकास गर्ने कामको समेत थालनि भयो’ उनले थपे, ‘पार्टी स्थापनाका दृष्टिकोणले नेपाली कांग्रेस पहिलो हो । तर आदिवासी जनजाती समुदायका सवाल उठान र राज्य पक्षबाट त्यसको संवोधनका दृष्टिकोणले निर्णयक भूमिका खेल्ने पार्टी एमाले मात्रै हो । नेपाली समाजलाई विष्लेषण हेर्ने शैली, नेपाली राजनीतिलाई हेर्ने दृष्टिकोणबाट कम्युनिस्ट र कांग्रेसबीच धेरै अन्तर देखिन्छ । आदीवासी जनजाती आन्दोलनलाई उस्काएर माओवादीले समाजमा मिलेर बसेका समुदायहरु बीच सामाजिक तथा जातीय विभाजनका चिरा फटाउने काम ग¥यो तर एमालेले नेपाली समाजमा मेल नखाने एकल जातीय राज्यमा असहमती राख्ने बाहेक जनजातीको हितका लागि विभिन्न पक्षमा न्यायोचित भूमिका निर्वाह गरेको छ ।’