१ कार्तिक २०८३, आइतबार

अनेरास्ववियूद्वरा शंकर देव क्याम्पसमा बास्केटबल प्रशिक्षण, प्रशिक्षक र खेलाडी सम्मानित



काठमाडौं । अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीद्वारा आयोजित निःशुल्क बास्केटबल प्रशिक्षण क्याम्प–२०८२ को समापन कार्यक्रम क्याम्पसको प्राङ्गणमा भव्य रुपमा सम्पन्न भएको छ। प्रशिक्षण क्याम्प श्रावण ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका अध्यक्ष निर्तिक घर्तिमगरले गरेका थिए भने प्रमुख अतिथिका रूपमा अनेरास्ववियू केन्द्रीय कमिटीका अध्यक्ष कमरेड महेश श्रेष्ठ उपस्थित थिए।

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटीका सह–अध्यक्ष मिलन राई तथा अतिथिहरु उपाध्यक्षद्वय अशोक थापा र कल्याण दाहाल, उपमहासचिव प्रमिला लामा, अनेरास्ववियू केन्द्रीय कार्यलय सदस्य तथा खेलकुद विभाग प्रमुख कैलास गिरि, उप–प्रमुख डिबी अले मगर, उपत्यका प्रदेश संयोजक एल.के. राई, केन्द्रीय कार्यलय सदस्य सुनिल खनाल, र पूर्वाञ्चल विश्वविद्यालय अध्यक्ष मनोज चन्दको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रशिक्षण क्याम्पमा एनइविए स्यार्टिफाइ काेच सौरभ श्रेष्ठको नेतृत्वमा सहभागी विद्यार्थीहरूले बास्केटबलको आधारभूत सीप, शारीरिक सन्तुलन, टीमवर्क, रणनीति तथा प्रतिस्पर्धात्मक अभ्यास गर्ने अवसर पाएका थिए। क्याम्पले केवल खेलकुदको तालिम मात्र नभई युवा विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास, शारीरिक सक्रियता र नेतृत्व क्षमताको समेत विकास गर्ने उद्देश्य बोकेको थियो।

कार्यक्रमको औपचारिक सत्रमा प्रशिक्षण दिने प्रशिक्षक तथा क्याम्पमा सहभागी भएका सम्पूर्ण खेलाडीहरूलाई सम्मानपत्र तथा प्रमाणपत्र प्रदान गरियो। कार्यक्रममा सहभागी अतिथिहरूले यस्ता खेलकुदमुखी प्रयासहरूलाई निरन्तरता दिई युवा पुस्तालाई सही दिशातर्फ उन्मुख गराउनु आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रम सञ्चालन अनेरास्ववियू शंकर देव क्याम्पस कमिटीका सचिव युनिक लोहनीले गरेका थिए। उनले बताएअनुसार अनेरास्ववियू शंकर देव क्याम्पस कमिटी आगामी दिनहरूमा पनि खेल, नेतृत्व विकास, सामाजिक जिम्मेवारी तथा शिक्षालाई जोडेर विद्यार्थीमुखी कार्यक्रमहरू आयोजना गर्न प्रतिबद्ध रहेको छ।

उक्त समारोहले सहभागीहरूबीच उत्साह, ऊर्जा र सकारात्मक प्रेरणा सिर्जना गरेको थियो ।