अमेरिका–ईयू व्यापार युद्ध तत्काल टर्‍यो, भन्सार शुल्क १५ प्रतिशतमा झार्ने सहमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अमेरिका–ईयू व्यापार युद्ध तत्काल टर्‍यो, भन्सार शुल्क १५ प्रतिशतमा झार्ने सहमति



काठमाडौं । संयुक्त राज्य अमेरिका र युरोपेली संघबीच व्यापार सम्झौता भएको छ । यस सम्झौताले संसारका दुई ठूला आर्थिक साझेदारहरूबीचको व्यापार युद्ध टरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायनबीच स्कटल्याण्डमा भएको निर्णायक वार्तापछि, दुबैले सबै युरोपेली संघबाट आयात हुने वस्तुहरूमा १५ प्रतिशत अमेरिकी भन्सार शुल्कमा सहमति जनाएका छन् ।

यसअघि ट्रम्पले युरोपेली वस्तुहरूमा ५० प्रतिशतसम्मको भन्सार दर लगाउने धम्की दिएका थिए । यो दर ट्रम्पले शुक्रबारदेखि लागू गर्ने धम्की दिएको ३० प्रतिशत आयात करको आधा हो।

उनले २७ सदस्यीय युरोपेली संघले अमेरिकी निर्यातकर्ताहरूका लागि निश्चित उत्पादनहरूमा शून्य प्रतिशत भन्सार खोल्ने बताएका छन्।

भोन डेर लायनले पनि यस सम्झौताको स्वागत गर्दै यसले दुवै साझेदार राष्ट्रहरूबीच स्थायित्व ल्याउने बताइन्, जसले संयुक्त रूपमा विश्व व्यापारको झण्डै एक तिहाइ हिस्सा ओगटेका छन्।

सम्भावित व्यापार युद्धको कारण अमेरिकामा युरोपेली वस्तुहरू महँगो हुने, अमेरिकी उद्योग प्रभावित हुने र विश्व अर्थतन्त्रमै असर पर्ने अनुमान गरिएको थियो। सम्झौताले त्यस जोखिमलाई टारिदिएको छ।

हवाईजहाज, सेमिकन्डक्टर डिभाइस, सामान्य औषधि र केही कृषि उत्पादनहरूमा कर हटाइएको छ। यस्ता क्षेत्रका उद्योगहरूले यसलाई स्वागत गरेका छन्। तर मोटर गाडी क्षेत्रले भने आलोचना गरेको छ। सम्झौताअनुसार युरोपेली गाडीहरूमा १५ प्रतिशत कर लगाइनेछ, जुन मेक्सिकोमा बनेका गाडीहरूलाई अमेरिकाले तिर्ने २५ प्रतिशत भन्दा कम भए पनि प्रतिस्पर्धात्मक असमानता ल्याउने देखिएको छ।

फन डर लायनले औषधि पनि प्रारम्भिक सम्झौतामा समावेश भएको बताएकी छन्, तर ट्रम्पले त्यसमा पछि फेरबदल गर्न सक्ने संकेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस्