भूगर्भ सिमेन्टको व्यापार ९ महिनामै १ अर्ब १३ करोड, क्लिंकर उत्पादनले बढायो व्यस्तता
काठमाडौं । नेपाली सिमेन्ट बजारमा आफ्नो पकड विस्तार गरिरहेको भूगर्भ सिमेन्ट लिमिटेडले ९ महिनामै सवा अर्बको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ को पहिलो ९ महिनामा १ अर्ब १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।
लगातार व्यापार वृद्धिको क्रमलाई कायम राख्दै कम्पनीले अघिल्ला वर्षहरूमा पनि सकारात्मक नतिजा देखाउँदै आएको छ ।
सन् २०२४ मा कम्पनीको वार्षिक कारोबार १ अर्ब ३९ करोड रुपैयाँ पुगेको थियो । यस्तै, सन् २०२३ मा पनि कम्पनीले १ अर्ब २६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
कम्पनीका अनुसार सन् २०२३ को करिब १० प्रतिशत कारोबार वृद्धि भएको जनाएको छ । तर, व्यापार वृद्धिसँगै नाफामा भने उतारचढाव देखिएको छ । कम्पनीका अनुसार सन् २०२४ मा क्लिंकरको मूल्य वृद्धि भएकाले नाफा घटेको हो । यद्यपि, व्यापार भने अघिल्लो वर्षकै स्तरमा कायम भएको कम्पनीले जनाएको छ ।
सन् २०२३ मा क्लिंकर उत्पादन नगरेको कम्पनीले सन् २०२४ मा भने पूर्ण क्षमतामा क्लिंकर उत्पादन थालेको थियो । अहिले कम्पनीले दैनिक ३०० मेट्रिक टन क्लिंकर उत्पादन गरिरहेको छ । आगामी दिनमा उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको छ । सो अवधिमा कम्पनीले १३ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
भूगर्भ सिमेन्ट लिमिटेड प्रारम्भमा ‘भूगर्भ सिमेन्ट उद्योग प्रालि’ को नाममा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो, जसले सन् २०२४ मा सार्वजनिक लिमिटेड कम्पनीको रूपमा रूपान्तरण भई नयाँ चरणमा प्रवेश गरेको हो ।
कम्पनीले हाल २ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋण सुविधा उपयोगका लागि क्रेडिट रेटिङ गराएको छ । यस अन्तर्गत दीर्घकालीन कर्जाका लागि १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७७ करोड ८३ लाख रुपैयाँको रेटिङ गराइएको छ ।
कम्पनीमा हाल ५ जना सञ्चालक समिति सदस्य रहेका छन् । कार्यकारी प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा दिपकराज गिरी र प्रबन्ध निर्देशकमा नन्दीकिशोर पौडेल रहेका छन् ।
बीसीएलले आफ्नै खानी योजना अन्तर्गत दैनिक ३२०० मेट्रिक टन प्रशोधन गर्ने क्षमताको व्यवस्था गरेको छ । कम्पनीले पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पिपीसी) र अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन गर्दै आएको छ ।
स्थापना कालमा ५०० मेट्रिक टन प्रति दिन उत्पादन क्षमता रहेको कम्पनीले सन् २०२३ को अगष्टमा उक्त क्षमता बढाएर ७०० एमटीपिडी पुर्याएको छ ।
नेपाली सिमेन्ट बजारमा प्रतिस्पर्धा तीव्र भइरहेको छ । भूगर्भ सिमेन्टले उत्पादन वृद्धि, गुणस्तरमा ध्यान र व्यावसायिक रणनीतिहरूको माध्यमबाट आफ्नो बजार हिस्सा विस्तार गर्दै गइरहेको छ ।













