विराटनगरमा बन्दै डेढ अर्बको पाँचतारे होटल ‘द एक्सिस’, २१५ कोठासहित ३५० बेड - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

विराटनगरमा बन्दै डेढ अर्बको पाँचतारे होटल ‘द एक्सिस’, २१५ कोठासहित ३५० बेड



मोरङको ब्रम्हापुरामा डेढ अर्ब लगानीमा पाँचतारे होटल, ‘द एक्सिस होटल’ बन्ने तयारी

काठमाडौं । पूर्वी नेपालको व्यवसायिक केन्द्र विराटनगरमा अब आधुनिक पर्यटन पूर्वाधार थपिने भएको छ । मोरङको ब्रम्हापुरामा ‘द एक्सिस होटल’ नामक पाँचतारे सुविधा सम्पन्न होटल निर्माणको तयारी भइरहेको छ ।

पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा विस्तार र रोजगारी सिर्जनाको उद्देश्यसहित प्रस्ताव गरिएको यो होटलको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा दर्ता भइसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनमा सर्वसाधारणको राय–सुझावका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै लिखित सुझाव पनि माग गरिसकेको छ ।

एक्सिस हस्पिटालिटी प्रालिको स्वामित्वमा बन्ने यो होटल ४ बिघा १३ कठ्ठा १९.९९ धुर (३१ हजार ८३१.३६ वर्गमिटर) क्षेत्रफलमा फैलिनेछ । २७ हजार ४८२.५७६ वर्गमिटर निर्माण क्षेत्रफल रहने होटलको संरचना चार वटा भवनमा विभाजित हुनेछ । जसमा एक चारतले, एक पाँचतले, एक भुइँतले र एक एकतले भवन समावेश हुनेछन् ।

होटलको छुट्टै आकर्षणका रूपमा आधुनिक क्यासिनो हल पनि निर्माण गरिनेछ । क्यासिनोको भुइँतल्ला १ हजार १८८ वर्गमिटर र पहिलो तल्ला १ हजार ६१७ वर्गमिटर क्षेत्रफलमा फैलिनेछ ।

होटलमा कुल २१५ कोठासहित ३५० शय्या, रेस्टुरेन्ट, स्विमिङ पुल, बार, मिटिङ हल, बेड्क्वेट हल, स्पा, साउना, जिम, विशेष पाहुना कक्ष, शौचालय तथा र्याम्प जस्ता सुविधाहरू रहनेछन् । प्रस्तावित होटलको भूमिगत पानीको दैनिक खपत ५२ हजार लिटर रहने अनुमान छ ।

पार्किङ सुविधाको हिसाबले १०४ चारपाङ्ग्रे र १५० दुईपाङ्ग्रे सवारीसाधन अट्ने क्षमता रहनेछ । होटल निर्माणमा दैनिक ७० जना र सञ्चालनपछिको चरणमा करिब २०० जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य राखिएको छ ।

कम्पनीले होटल निर्माणको लागत करिब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरेको छ । यो परियोजना तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको हो ।

यो होटल निर्माण संघीय सरकार अन्तर्गत पर्न आउने हुँदा वातावरण संरक्षण ऐन, २०७६ तथा नियमावली, २०७७ अनुसार संघीय सरकारले प्रतिवेदन मूल्याङ्कन गर्दैछ । पाँचतारे होटलको रूपमा प्रस्ताव गरिएकाले यसमा आवश्यक वातावरणीय मापदण्ड तथा कानुनी औचित्य पूरा गर्नुपर्ने प्रावधानअनुसार ईआईए प्रतिवेदन तयार पारिएको हो ।

प्रस्तावित होटल क्षेत्र प्राकृतिक रूपमा समथर भूभागमा छ र नजिकै केसलिया खोला बहिरहेको छ । भूगर्भ, माटो परीक्षणदेखि हावाको गुणस्तर, जैविक विविधता र सामाजिक प्रभावसमेत विश्लेषण गरिएको प्रतिवेदनले यो क्षेत्र निर्माणका लागि उपयुक्त रहेको देखाएको उल्लेख छ ।

पर्यावरणीय मूल्याङ्कनमा सहभागी स्थानीय बासिन्दा तथा सरोकारवाला निकायहरूबाट प्राप्त सुझावलाई समावेश गर्दै प्रतिवेदन तयार पारिएको उल्लेख छ ।

मन्त्रालयको वेबसाइटसहित विभिन्न स्थानमा प्रतिवेदन सार्वजनिक गरिएको छ, जसमा सिंहदरबारस्थित पुस्तकालयदेखि विराटनगर महानगर कार्यालय, विभिन्न मन्त्रालय र अनुसन्धान केन्द्रहरूमा समेत अध्ययनका लागि उपलब्ध छ ।

यस परियोजनाले पूर्वी नेपालमा पर्यटनको क्षेत्रमा नयाँ ढोका खोल्ने विश्वास गरिएको छ । होटल निर्माणपछि स्थानीय स्तरमा रोजगारी, व्यवसायिक गतिविधि र राजस्व संकलनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । एक्सिस हस्पिटालिटीले वातावरणीय व्यवस्थापन योजना लागू गर्दै नियमित अनुगमन गर्ने प्रतिबद्धता समेत जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्