४ ट्रिलियन डलर क्लबमा प्रवेश गर्ने दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

४ ट्रिलियन डलर क्लबमा प्रवेश गर्ने दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट



काठमाडाैं । माइक्रोसफ्टले ४ ट्रिलियन डलरभन्दा माथि बजार मूल्याङ्कन हासिल गर्ने दोस्रो अमेरिकी कम्पनीको रूपमा किर्तिमान बनाएकाे छ।

बुधबार साँझ सार्वजनिक भएको सफल आम्दानी रिपोर्टपछि बिहीबार बजार खुलेसँगै कम्पनीको शेयर मूल्य करिब ४.५ प्रतिशतले वृद्धि हुँदै इंट्राडे मूल्याङ्कन ४.०१ ट्रिलियन डलरमा पुगेको छ। यस वर्षको सुरुदेखिनै माइक्रोसफ्टको शेयर मूल्य करिब २८ प्रतिशतले बढेको छ।

यो सफलता माइक्रोसफ्टले ३ ट्रिलियन डलरको मूल्याङ्कन हासिल गरेको करिब डेढ वर्षपछि आएको हो। कम्पनीले पहिलो पटक अप्रिल २०१९ मा १ ट्रिलियन डलरको सीमा तोडेको थियो। यसअघि यसै महिना इनभेडियाले ४ ट्रिलियन डलर क्लबमा प्रवेश गर्दै पहिलो स्थान हासिल गरेको थियो भने माइक्रोसफ्ट दोस्रो कम्पनी बनेको छ। माइक्रोसफ्टको मूल्य वृद्धिको यात्रा इनभेडिया र एप्पलजस्ता टेक दिग्गजहरूको तुलनामा अलिकति ढिलो भए पनि उल्लेखनीय छ।

माइक्रोसफ्टले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आर्टिफिसियल इन्टेलिजेन्स विस्तारका लागि ३० अर्ब डलरको रेकर्ड पूँजी खर्च गर्ने योजना बनाएको छ। बुधबार सार्वजनिक रिपोर्ट अनुसार यसको अज्योर क्लाउड कम्प्युटिङ कारोबारले तीव्र वृद्धि देखाएको छ। वाल स्ट्रिटका विश्लेषकहरूका अनुसार माइक्रोसफ्ट ३६५ व्यवसायिक सफ्टवेयरमा कोपाइलट एआई च्याटबोटले उल्लेखनीय प्रभाव पारिरहेको छ।

हालै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्त १ तारिखको शुल्क सीमा नजिकिँदै गर्दा अमेरिकाका व्यापार साझेदारहरूसँग भएका सकारात्मक वार्ताहरूले शेयर बजारमा उत्साह थपेको छ। यसले एस एण्ड पी ५०० र नासड्याकलाई नयाँ उच्चतामा पुर्‍याएको छ।

ट्रम्पको शुल्क नीतिले विश्व बजारलाई अस्थिर बनाएको बेला, माइक्रोसफ्टले अप्रिल २०२५ मा आएको न्यूनतम मूल्याङ्कनबाट करिब ५० प्रतिशतले वृद्धि गरि सशक्त पुनरुत्थान गरेको छ।

माइक्रोसफ्टको ओपनएआईमा गरिएको अर्बौं डलरको लगानीले यसको अफिस सुइट र अज्योर उत्पादनहरूलाई अत्याधुनिक एआईले सशक्त बनाउँदैछ। च्याटजीपीटीको २०२२ को अन्त्यतिरको सुरुवातदेखि नै कम्पनीको शेयर मूल्य दुई गुणाभन्दा बढी बढेको छ।

ओपनएआईका मोडेलहरूमा विशेष पहुँच पाएपछि माइक्रोसफ्टले जेनेरेटिभ एआई क्षेत्रमा अग्रता लिएको छ। अज्योर क्लाउड कम्पनीको सबैभन्दा ठूलो आम्दानी स्रोत बनेको छ र गुगल तथा अमेजनको क्लाउड सेवाहरूसँग प्रतिस्पर्धा गर्दै आफ्नो स्थान थप सुदृढ बनाएको छ।

वाल स्ट्रिटले कम्पनीप्रति निरन्तर बढ्दो विश्वास देखाउँदै आएको छ, जसले २०२२ सेप्टेम्बरदेखि लगातार नयाँ आम्दानी रेकर्डहरू कायम राखेको छ।

शेयर मूल्यको यो वृद्धि सुनिश्चित गर्न कम्पनीले हालै आफ्नो कर्मचारी संख्यामा कटौती गरेको छ र एआईमा लगानीलाई दोब्बर बनाएको छ।

यद्यपी माइक्रोसफ्टले पछिल्ला महिनाहरूमा आफ्नो कर्मचारी संरचना सजिलो र प्रभावकारी बनाउन स्ट्रिमलाइन गर्ने कदम चालेको छ। यसै महिना कम्पनीले करिब ९,००० कर्मचारी कटौती गर्ने घोषणा गर्‍यो, जुन २०२३ यता सबैभन्दा ठूलो छ। यसअघि मे महिनामा ६,००० कर्मचारीको कटौती गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्