लालपुर्जा केवल स्वामित्व होइन, आत्मसम्मान, आत्मबल र आर्थिक समृद्धिको कडी होः सांसद चौधरी
काठमाडाैं । प्रतिनिधिसभा सांसद विनोद चौधरीले शुक्रबार बर्दघाट नगरपालिका–५ मा आयोजित जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण कार्यक्रममा बोल्दै स्थानीय जनताको वर्षौंदेखिको प्रतीक्षालाई सम्बोधन गर्ने ऐतिहासिक कार्य सम्पन्न भएको बताएका छन्।
कार्यक्रममा सांसद चौधरीले बर्दघाट क्षेत्रका हजारौं भूमिहीन, अव्यवस्थित र सुकुमबासी जनतालाई लालपुर्जा वितरण गर्नु आफ्नो एक प्रमुख चुनावी प्रतिबद्धता भएको स्पष्ट पारे।
उनले भने, “वर्षौं थन्किएको नागरिकताको सवाल होस् वा जग्गा स्वामित्वको, हामीले चुनावमा गरेका वाचा अब कार्यान्वयनको चरणमा छन्। लालपुर्जा वितरण केवल स्वामित्व होइन, यो आत्मसम्मान, आत्मबल र आर्थिक समृद्धिको कडी हो।”
सांसद चौधरीले लालपुर्जाको अर्थ आर्थिक स्वतन्त्रताको ढोका खुल्ने भएको उल्लेख गर्दै यसले बैंक ऋण, बालबच्चाको शिक्षा र व्यावसायिक अवसरको बाटो खोल्ने बताए। “यो एउटा कागज मात्र होइन, यो पुस्तौंदेखि भोग्दै आएका जमिनको आधिकारिक पहिचान हो, जुन अब समृद्धिको आधार बन्नेछ,” उनले प्रष्ट पारे।
गत दुई वर्षदेखि विभिन्न बाधाका बीच अघि बढाइएको यो प्रक्रिया हाल लालबहादुर खनाल नेतृत्वको स्थानीय सरकार र भूमिसम्बन्धी आयोगको सक्रियता एवं समन्वयबाट तीव्र गतिमा अगाडि बढ्न सफल भएको चाैधरीकाे भनाइ छ। उनले मेयर खनाललाई उपकरण, जनशक्ति र व्यवस्थापनमा गरेको सक्रिय सहयोगका लागि विशेष धन्यवादसमेत दिए।
सांसद चौधरीले जिल्लाको करिब २२ हजार नागरिकलाई क्रमशः जग्गाधनी प्रमाणपत्र वितरण गरिने लक्ष्य रहेको बताए। हालसम्म बर्दघाट क्षेत्रका ७ हजार ५ सय नागरिक लाभान्वित भइसकेको उल्लेख गर्दै उनले यो वितरणलाई विकासको मूर्त सुरुवातका रूपमा व्याख्या गरे।
कार्यक्रममा उनले आफ्नो कार्यकालमा थुप्रिएका योजनाहरूलाई छिटो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता दोहोर्याए। उनले बर्दघाटको चिसापानी ट्रमा सेन्टर, डायलाइसिस केन्द्र, उद्योग ग्राम, पोलिटेक्निक तालिमहरू, खजुरा पुल र हुलाकी सडक लगायतका अधुरा योजनाहरूको प्रगति बारे उल्लेख गरे।
उनले खजुरा पुलको निर्माणमा भएको ढिलाइलाई वैकल्पिक स्रोतबाट समाधान गरी काम अघि बढाइएको जानकारी दिए भने हुलाकी सडकको पुनः निर्माण प्रक्रिया पनि सुरु भएको जनाए। “विकासमा अवरोध नहोस् भनेर हामी ठेकेदारलाई मात्रै भर नपरी वैकल्पिक बाटाहरू अपनाउँदै अगाडि बढिरहेका छौं,” चौधरीले भने।
यस्तै उनले राजनीतिक दलहरूलाई पनि समावेशी सहभागिताको सन्देश दिँदै जनताको कार्यक्रममा नआउने प्रवृत्तिको आलोचना गरे।
“निर्वाचनका बेला प्रतिस्पर्धा गरौं, तर जनताको साझा विकासमा भने सबै मिलेर लागौं,” उनले आग्रह गरे। साथै उनले सामाजिक सद्भाव र विकासलाई जोड्दै शालीन विरोधको अभ्यास गर्न नेताहरूलाई सुझाव दिए।
सांसद चौधरीले बर्दघाट क्षेत्रलाई प्रदेशको अग्रगामी विकास मोडेलका रूपमा स्थापित गर्ने आफ्नो अठोट व्यक्त गरे। “यो ठाउँ सधैं उपेक्षित रह्यो, अब हामी सबैको साझा प्रयासले यसलाई एक उदाहरणीय नगर बनाउनेछौं,” उनले जोड दिए।
कार्यक्रमको अन्त्यमा उनले भूमि आयोग, समस्या समाधान समिति, स्थानीय सरकार र कर्मचारीहरूलाई समर्पित योगदानका लागि धन्यवाद दिँदै यो कार्य कुनै पार्टीको नभई जनताको अधिकार प्राप्तिको ऐतिहासिक चरण भएको उल्लेख गरे।
कार्यक्रममा भूमि आयोगका जिल्ला अध्यक्ष लालबहादुर गुरुङले पनि आयोगले निष्पक्ष र प्रभावकारी रूपमा काम गर्दै आएको जानकारी दिए।
यस अवसरमा बर्दघाटमा १०० भूमिहीन परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको थियो। यस वितरणले ती परिवारहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।















