अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी गभर्नरले दिइन् राजीनामा, ट्रम्पलाई नयाँ नियुक्तिको मौका - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी गभर्नरले दिइन् राजीनामा, ट्रम्पलाई नयाँ नियुक्तिको मौका



काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भकी गभर्नर एड्रियाना कुग्लरले राजीनामा दिने घोषणा गरेकी छन् ।

कुग्लरले आफ्नो कार्यकाल समाप्त हुनु केही महिना अगाडि नै राजीनामा दिने घोषणा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बोर्डमा नयाँ सदस्य नियुक्त गर्ने अवसर प्रदान गरेको छ।

सन् २०२३ मा तत्कालीन राष्ट्रपति जो बाइडेनद्वारा नियुक्त गरिएकी कुग्लरको कार्यकाल सन् २०२६ को जनवरीमा समाप्त हुने तय थियो। तर उनले आगामी अगस्ट ८ तारिखदेखि पद त्याग गर्ने बताएकी छन्। फेडले उनको राजीनामाको कारण स्पष्ट पारेको छैन।

“फेडरल रिजर्भ प्रणालीको बोर्डमा सेवा गर्नु मेरो जीवनकै सबैभन्दा ठूलो सम्मान हो,” कुग्लरले एक विज्ञप्तिमा भनिन्, “मूल्यवृद्धि नियन्त्रण र मजवुत श्रम बजार कायम राख्ने हाम्रो दुई गुणात्मक लक्ष्य पूरा गर्ने कठिन समयमा सेवा गर्न पाएकोमा विशेष गर्व लाग्छ।”

डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै कुग्लरले ब्याजदरको विषयमा असहमति भएकाले पद त्याग गरेको दाबी गरेका थिए।

यस्तै ट्रम्पले यसअघि पनि पटक पटक ब्याजदर घटाउन असफल भएका कारण अमेरिकी आर्थिक वृद्धि प्रभावित बनेको भन्दै फेडरल रिजर्भका प्रमुख जेरोम पावेलको राजीनामा माग गर्दै आएका छन् ।

ट्रम्पले एड्रियाना कुग्लरको राजिनामा प्रति सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गर्दै पावेलमाथि थप दबाव सिर्जना गरेका छन्। “पावेलले पनि एड्रियाना कुग्लरले जस्तै राजीनामा दिनुपर्छ। उनले थाहा पाइन् कि पावेल गलत बाटोमा छन्,” ट्रम्पले भनेका छन्।

कुग्लर फेडको पछिल्लो बैठकमा अनुपस्थित थिइन्, जहाँ अधिकारीहरूले ब्याजदर पाँचौँपटक स्थिर राख्ने निर्णय गरेका थिए।

कुग्लरको राजीनामाले फेडमा नयाँ आवाज थपिनेछ र ट्रम्पलाई आर्थिक नीतिमा प्रभाव जमाउने अवसर मिल्नेछ। यदि ट्रम्पद्वारा प्रस्तावित व्यक्ति सिनेटबाट अनुमोदित भए भने उनी भविष्यमा फेड चेयर बन्ने सम्भावनासमेत रहन्छ। फेडको नियमअनुसार, अध्यक्ष फेड बोर्डकै सदस्यहरूमध्येबाट नियुक्त गरिन्छ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेस्सेन्टले नयाँ अध्यक्षको खोजी सुरु भइसकेको बताएका छन्। सम्भावित प्रतिस्पर्धीहरूमा स्वयं बेस्सेन्ट, पूर्व गभर्नर केभिन वार्श, हालका गभर्नर क्रिस्टोफर वालर, तथा ह्वाइट हाउसको आर्थिक परिषद्का निर्देशक केभिन हैसेटको नाम अगाडि आएको छ।

हालैको एक पत्रकार सम्मेलनमा जेरोम पावेलले आफ्नो कार्यकाल समाप्त भएपछि फेड बोर्डमा रहिरहने योजना छ वा छैन भन्नेबारे प्रस्ट पारेका थिएनन्। कानुनी रूपमा ट्रम्पले पावेललाई अध्यक्षबाट हटाएर अन्य गभर्नरलाई नियुक्त गर्न सक्ने अधिकार प्रष्ट छैन।


प्रतिक्रिया दिनुहोस्