इन्टरनेट बजारः वर्ल्डलिंकको एकछत्र राज, टेलिकमलाई डिश होमले उछिन्यो, कसको पकड कति ?
काठमाडौं । कुनै समय इन्टरनेट सेवा ‘लक्जरी’ मानिन्थ्यो । अहिले चाहिँ यो आधुनिक जीवनशैलीको आधारभूत आवश्यकता बनेको छ ।
प्राविधिक प्रगति र प्रयोगकर्ताको तीव्र बृद्धिसँगै नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीचको प्रतिस्पर्धा झनै चर्किदै गएको छ ।
सेवाको गुणस्तर, पहुँच विस्तार र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै कम्पनीहरू आफ्नो बजार हिस्सालाई बलियो बनाउने रणनीतिक दौडमा छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर ३२ लाख ४८ हजार ६७४ फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट ग्राहक रहेका छन् । तीमध्ये ३२ लाख १९ हजार ३९१ ग्राहक फाइबर सेवा प्रयोगकर्ता हुन् भने २८ हजार २९८ वायरलेस र केवल छन् । यता, ९८५ ग्राहक एडीएसएल वा केबल प्रविधिमा छन् ।
आँकडाअनुसार इन्टरनेट पहुँचको मेरुदण्ड अहिले फाइबर प्रविधि बनिसकेको छ । नेपाली इन्टरनेट बजार अहिले तीव्र पुनर्संरचनाको चरणमा छ । वल्र्डलिंकको सशक्त अग्रता कायम भएपनि दोस्रोदेखि दशौं स्थानसम्मका कम्पनीबीचको प्रतिस्पर्धा द्रुत गतिमा रूपान्तरण हुँदैछ । प्रविधिमा लगानी, सेवा गुणस्तर र पहुँच विस्तारका आधारमा इन्टरनेट सेवा प्रदायकहरूको शक्ति सन्तुलन आगामी महिनाहरूमा झनै बदलिन सक्ने संकेत देखिएको छ ।

हालको तथ्यांक अनुसार नेपाली इन्टरनेट बजार वल्र्डलिंक कम्यूनिकेशन लिमिटेडको कब्जामा देखिन्छ । वल्र्डलिंकले बजारमा एकछत्र राज गरेको छ, सबैभन्दा ठूलो हिस्सा छ । कम्पनीसँग देशभर १० लाख १२ हजार ४१९ फाइबर ग्राहक छन् । जुन कुल बजारको ३१.१७ प्रतिशत हो । ग्राहक संख्याका हिसाबले वल्र्डलिंक अन्य प्रतिस्पर्धीभन्दा धेरै अघि छ र पहिलो स्थान सुरक्षित गर्न सफल भएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको प्रतिस्पर्धा चर्को देखिएको छ । केही समयअघिसम्म दोस्रो स्थानमा नेपाल टेलिकमलाई डिश मिडिया नेटवर्क लिमिटेडले उछिनेको छ । हाल डिश मिडियाका देशघर ३ लाख ६१ हजार ३९४ ग्राहक छन् । यो कुल इन्टरनेट बजारको ११.१२ प्रतिशत हुन आउँछ । यसअघि दोस्रो स्थानमा रहेको नेपाल टेलिकम तेस्रो सूचीमा झरेको छ ।
टेलिकमका इन्टरनेट ग्राहक घटेको देखिन्छ । हाल ३ लाख ५४ हजार ४३८ ग्राहक छन् । यो कुल बजारको १०.९१ प्रतिशत हुन आउँछ ।
चौंथो स्थानमा भने भायानेट कम्युनिकेसन लिमिटेड छ । यस इन्टरनेट सेवा प्रदायकका देशभर ३ लाख १९ हजार ८ ग्राहक छन् । कुल बजारमा भायानेटको योगदान ९.८२ प्रतिशत छ ।
पाँचौैं सूचीमा रहेको सुविसु केबलनेटका देशभर २ लाख ९९ हजार २२५ ग्राहक छन् । यो कुल बजारको ९.२१ प्रतिशत हुन आउँछ ।
ठुला इन्टरनेट सेवा प्रदायकमध्येको क्लासिक टेक भने छैंटौं सूचीमा पुगेको छ । कुल इन्टेरनेट बजारमा यसको योगदान ५.७६ प्रतिशत छ । हाल देशभर क्लासिक टेकका १ लाख ८७ हजार १३७ ग्राहक छन् ।
वेबसर्फर नेपाल कम्युनिकेसनका १ लाख ७५ हजार ६५९, टेकमाइण्ड्स नेटवर्कका १ लाख १ हजार ५८०, सीजी कम्युनिकेसन लिमिटेडका ८२ हजार ८६० र ‘सस्तो इन्टरनेट’ भनेर चिनिँदै आएको वाइफाइ नेपालका देशभर ८२ हजार ४८० ग्राहक पुगेका छन् ।
इन्टेरनेट बजारमा यी बाहेक ब्रोडलिंक, फाइबर वल्र्ड, सजिलो नेट, फर्स्टलिंक कम्युनिकेसन, कोनेक्ट नेपाल नेटवक, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस, एरोनेट, चित्रवन युनिक नेट जस्ता साना प्रदायकहरूले पनि सेवा विस्तार गरिरहेका छन् । ग्राहक संख्या थोरै भए पनि तिनीहरूको क्षेत्रगत उपस्थिति उल्लेखनीय नै छ ।














