७ श्रावण २०८३, बिहिबार

खाने तेल बेच्ने कालिका रिफाइनरीको व्यापार ६३.१९% बढ्यो, १० महिनामै साढे ३ अर्बको कारोबार



काठमाडौं । घरेलु खाद्य तेल उद्योगमा सक्रिय कालिका रिफाइनरी प्रालिले व्यापारमा उल्लेख्य सुधार गरेको छ । १० महिनामै कम्पनीले साढे ३ अर्बको व्यापार गरेको छ ।

कम्पनी खाद्य तेल प्रशोधन तथा उत्पादनमा क्रियाशील छ । कम्पनीले हाल सनफ्लावर, सोयाबिन र तोरीको तेल उत्पादन गर्दै आइरहेको छ ।

कम्पनी हाल दैनिक १०० मेट्रिक टन क्षमतामा संचालित छ । कम्पनीले बेला, अम्बे र एग्रो गोल्ड ब्रान्डमा तेल बजारमा ल्याउँदै आएको छ ।

कम्पनीले सन् २०२५ को १० महिनामै ३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो गत वर्ष सन् २०२४ को तुलनामा ६३.१९ प्रतिशत धेरै हो । गत वर्ष पनि कम्पनीले २ अर्ब ९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

१० महिनाको व्यापारमा ४४ प्रतिशत हिस्सा निर्यात बाट आएको कम्पनीले जनाएको छ । कम्पनीले तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अर्जेन्टिना, युक्रेन, रुस र ब्राजिल जस्ता मुलुकबाट आयात गर्दै आएको छ ।

यो कम्पनी सन् २०१९ को जनवरीमा स्थापना भएको हो । तेल प्रशोधन उद्योगमा गुणस्तरीय उत्पादन, ब्रान्ड सुदृढीकरण र निर्यातमैत्री रणनीतिले कम्पनीलाई छोटो समयमै व्यावसायिक रूपमा उल्लेखनीय सुधार गरेको छ । स्थापनाको दुई वर्षपछि सन् २०२१ मा ४ करोड ४० लाखको मात्रै व्यापार गरेको थियो । त्यसपछि वर्षमा भने आक्रामक रुपमा व्यापार विस्तार गरेको देखिन्छ ।

कम्पनीका अनुसार सन् २०२२ मा २ अर्ब ८१ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब ६१ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

कम्पनी नवलपरासीको गैडाकोट नगरपालिका, कालिकानगरमा रहेको छ । कम्पनी दिपकप्रसाद सापकोटा, मदन सापकोटा र कुसुम कँडेल सापकोटाको संयुक्त स्वामित्वमा रहेको छ । ती सबैले कम्पनीमा बराबरी सेयर लगानी गरेका छन् ।

इक्रा नेपालका अनुसार कम्पनीले २ अर्ब कर्जाका लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जा प्रयोजनका लागि २ अर्ब रुपैयाँ बराबरको कर्जा रेटिङ गराइसकेको हो । १५ करोड ६० लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि र १ अर्ब ८४ करोड ४० लाख रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराइएको छ ।

इक्रा नेपालले दीर्घकालीन कर्जामा ‘एलबि’ रेटिङ प्रदान गरेको छ । यसअघि भने यस्तो कर्जामा एलबिमाइनस रेटिङ दिएको थियो । ‘एलबि’ रेटिङले कम्पनीको ऋण तिर्ने क्षमता तुलनात्मक रूपमा स्थिर रहेको जनाउँछ । रेटिङमा आएको सुधारले कम्पनीको वित्तीय अवस्था तथा व्यवसायिक गतिविधिमा आएको सकारात्मक प्रगतिको संकेत गर्छ ।

वित्तीय अनुशासन, व्यापार विस्तार तथा निर्यातमुखी रणनीतिले कम्पनीको समग्र स्थिति मजबुत भएको भन्दै रेटिङ एजेन्सीले दीर्घकालीन रेटिङमा सुधार ल्याएको हो ।

यता, अल्पकालिन कर्जामा भने ‘एफोर’रेटिङ प्राप्त गरेको छ । यसले कम्पनीको छोटो अवधिको दायित्व पूरा गर्ने क्षमता सीमित भए पनि उपयुक्त हिसाबले व्यवस्थापन भइरहेको देखाउँछ ।


प्रतिक्रिया दिनुहोस्