कर्णालीमा विकासको लहरः ११० मेगावाटको ‘माथिल्लो चुवा लुरुप्या’ हाइड्रो बन्दै, अनुमानित लागत २३ अर्ब
काठमाडौं । हिमाली जिल्ला हुम्ला ‘अन्धकार’ बाट ‘ऊर्जाको उज्यालो’ तर्फ अघि बढ्ने तयारीमा छ ।
कर्णाली प्रदेशको सिमकोट र खार्पुनाथ गाउँपालिकामा ११०.२ मेगावाट क्षमताको माथिल्लो चुवा लुरुप्या जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ ।
यो आयोजना नेपाल पोर्टफोलियो एनर्जी प्रालि र मलेसियन कम्पनी ओएचपी नेपाल इनकर्पोरेटेडको संयुक्त लगानीमा अगाडि बढ्न लागेको हो ।
प्रारम्भिक रूपमा २०७६ मंसिर २९ गते १०३ मेगावाटको सर्वेक्षण अनुमतिसहित शुरू गरिएको परियोजना विस्तृत अध्ययनपछि अहिले ११०.२ मेगावाटमा रूपान्तरण गरिएको हो ।
२०७९ सालदेखि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) रिपोर्ट तयार पार्दै आएको आयोजना पक्षले २०२५ मार्चमा ईआईए प्रतिवेदन वन तथा वातारण मन्त्रालयमा बुझाइ सकेको छ । रिपोर्ट अनुसार आयोजना निर्माणका लागि २२ अर्ब ८५ करोड रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ ।
दुई खोलाको पानीबाट उत्पादन, तीन टर्बाइन प्रयोग हुने
आयोजनामा चुवा खोला र लुरुप्या खोलाको पानी एकीकृत गरी बिजुली उत्पादन गरिनेछ ।
चुवा खोलामा ३४.६ मिटर लामो र १४ मिटर अग्लो बाँध निर्माण गरिनेछ, जसमा ७ लाख ३८ हजार घनमिटर पानी संचित हुने प्रतिवेदनमा उल्लेख छ । लुरुप्या खोलामा २० मिटर लामो र ७ मिटर अग्लो बाँध प्रस्तावित छ ।
दुबै खोलाको पानी सुरुङमार्फत एकै ठाउँमा ल्याइनेछ र त्यहाँबाट १०२ मिटरको अन्तिम सुरुङ हुँदै विद्युतगृहमा पु¥याइने उल्लेख गरिएको छ । सिमकोट गाउँपालिका–१, मुग्रिकमा निर्माण हुने विद्युतगृहमा तीन वटा टर्बाइन जडान गरिनेछ ।
सडक, रोजगारी र सामाजिक पूर्वाधारमा लगानी
बाँधदेखि विद्युतगृहसम्म ९.६ किलोमिटर सडक निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ । परियोजनाको निर्माण कार्य पूरा गर्न चार वर्षको समय तोकिएको छ ।
निर्माण अवधिमा करिब ६१० जनाले रोजगारी पाउने अनुमान छ । परियोजनाको प्रभाव क्षेत्रमा १८.१३ हेक्टर वनजंगल प्रयोग हुनेछ भने ७५७ वटा रुख कटानी गर्नुपर्नेछ ।
तर, आयोजनाले स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । ११ करोड ४३ लाख रुपैयाँको सामुदायिक सहयोग कार्यक्रम अन्तर्गत विद्यालय, स्वास्थ्य चौकी, खानेपानी र सुरुङखेती जस्ता पूर्वाधार निर्माण गरिनेछ ।
वार्षिक ६१७ गिगावाटघण्टा विद्युत उत्पादनको लक्ष्य
आयोजना सम्पन्न भएपछि हुम्ला जिल्लाबाट वार्षिक ६१७.२८ गिगावाटघण्टा विद्युत उत्पादन हुनेछ । उत्पादन भएको बिजुली मुगु हब सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा सिधा जोडिने छ । यो आयोजना हुम्ला क्षेत्रको मात्र नभई कर्णाली प्रदेशकै ऊर्जा आत्मनिर्भरता र आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउने विश्लेषण गरिएको छ ।













