ईपीएस कोरियन भाषा परीक्षाः ३ हजार ५०० उत्पादन र कृषि क्षेत्रमा १८ सय कोटा, कहिलेदेखि फर्ने फारम ?
काठमाडौं । कोरियामा रोजगारीका लागि भाषा परीक्षा दिन चाहाने नेपालीका लागि ईपीएस अन्तर्गत आवेदन खुला गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।
कोरियन मानव संशाधन विकास संस्थासँगको सहकार्यमा खोलिएको आवेदन मार्फत उत्पादनमूलक तथा कृषि÷पशुपालन क्षेत्रका लागि नेपाली कामदार पठाइनेछ ।
यो चरणको परीक्षाका लागि ५ हजार ३०० कोटा तोकिएको छ । जसमा ३ हजार ५०० जना उत्पादनमूलक र १ हजार ८०० जना कृषि तथा पशुपालन क्षेत्रका लागि हुनेछन् ।
एक जना आवेदकले एकै क्षेत्रमा मात्र आवेदन दिन पाउनेछन् । भाषा परीक्षा पास गरेपछि मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी हुन पाइनेछ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । परीक्षा स्थल भने काठमाडौंमा हुने छ ।















