बागमतीमा कांग्रेस नेता बानियाँद्वारा मुख्यमन्त्रीको दाबी
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसँगै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीको रूपमा दाबी पेश गरेका छन् ।
केही समयअघि मात्रै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा ६८ (२) अनुसार बहुमतको आधारमा मुख्यमन्त्रीको दाबी गर्न आह्वान गरेको थियो ।
उक्त आह्वान लगत्तै बानियाँले सरकार गठनका लागि आवश्यक समर्थनसहित आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १८ गतेबाट लागू हुने गरी राजीनामा दिएपछि प्रदेशमा नयाँ सत्ता समीकरणको तयारी सुरू भएको हो । अब प्रदेश प्रमुखको निर्णयपछि नयाँ सरकारको औपचारिक घोषणा हुनेछ ।















