स्क्याम तथा आपराधिक गतिविधिबाट जोडिएका ६८ लाख ह्वाट्सएप खाताहरू बन्द, मेटाले दियो यस्तो चेतावानी - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्क्याम तथा आपराधिक गतिविधिबाट जोडिएका ६८ लाख ह्वाट्सएप खाताहरू बन्द, मेटाले दियो यस्तो चेतावानी



काठमाडाैं । विश्वभरका प्रयोगकर्तामाथि ठगी गर्ने उद्देश्यले सञ्चालनमा रहेका फेक तथा आपराधिक गतिविधिबाट जोडिएका ६८ लाख भन्दा धेरै ह्वाट्सएप खाताहरू यस वर्षको पहिलो छ महिनामा हटाइएको मेटाले जनाएको छ ।

कम्पनीका अनुसार हटाइएका खातामध्ये धेरैजसो दक्षिण–पूर्वी एसियामा रहेका संगठित आपराधिक स्क्याम केन्द्रहरूबाट सञ्चालित थिए, जसले जबरजस्ती श्रम प्रयोग गरी ठगी सञ्चालन गर्दै आएका थिए ।

सोही अवधिमा ह्वाट्सएपले आफ्ना प्रयोगकर्तालाई ठगीबाट जोगाउन नयाँ सुरक्षा उपायहरू पनि लागू गरेको छ । अब अपरिचित व्यक्तिले तपाईंलाई समूह च्याटमा थप गरेमा वा आशंकास्पद गतिविधि देखिएमा एपले तत्कालै चेतावनी दिनेछ ।

हालै देखिएको प्रवृत्तिअनुसार ठगहरू सुरुमा सामान्य सन्देश पठाएर ह्वाट्सएपमा कुराकानी सुरु गर्छन् र पछि नक्कली लगानी योजना वा सहज कमाइको लोभ देखाएर समूहमा थप्छन् । कहिलेकाहीँ प्रयोगकर्ताको खाता नै हाइज्याक गरेर त्यस्ता स्क्याम चलाइने गरिएको छ ।

ह्वाट्सएपले धेरैजसो ठगी खाता स्क्याम केन्द्रहरूले सक्रिय हुनुअघि नै पहिचान गरी हटाउन सफल भएको मेटाले जनाएकाे छ

एक घटनामा ह्वाट्सएपले मेटा र ओपनएआईसँग मिलेर सोशल मिडिया पोस्टमा लाइक बढाइदिन्छु भन्दै पैसा असुल्ने र नक्कली स्कुटर भाडामा दिने ‘पेरेमिड स्किम’ चलाइरहेको कम्बोडियाली समूहको नेटवर्क नै तहस–नहस गरेको थियो ।

प्रायः यस्ता ठगीको अन्तिम चरण क्रिप्टोकरेन्सी वा अनलाइन भुक्तानी प्लेटफर्ममार्फत गरिने मेटाले जनाएको छ ।

यदि सोझै कुनै रकम तिरेपछि मात्रै फाइदा वा कमाइ दिने भनेको छ भने त्यो स्क्याम हुनसक्छ भन्दै मेटाले चेतावनी दिएकाे छ ।

दक्षिण–पूर्वी एसियाका म्यानमार, कम्बोडिया र थाइल्यान्डजस्ता देशमा अरबौं रुपैयाँ ठगी गर्ने स्क्याम केन्द्रहरू सक्रिय रहेको मानिन्छ । यस्ता केन्द्रहरूले मानिसलाई रोजगारीको लोभ देखाएर ल्याई जबरजस्ती ठगीको काम गराइरहेको पनि तथ्य खुलेका छन् ।

क्षेत्रीय अधिकारीहरू र मेटाले प्रयोगकर्ताहरूलाई सकेसम्म ‘दुई चरणको प्रमाणीकरण जस्ता सुरक्षा सुविधा प्रयोग गर्न, अपरिचित समूहमा नजाने तथा कुनै पनि शंका लाग्दो सन्देश वा प्रस्ताव देख्दा तुरुन्त सावधानी अपनाउन आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्