सिद्धार्थ बैंकले कमायो झन्डै साढे तीन अर्ब नाफा, दोहोरो अंकको लाभांश क्षमता, इपिएस कति ?
काठमाडौं । सिद्धार्थ बैंकको नाफा दोहोरो अंकमा वृद्धि भएकमो छ । एकै वर्ष बैंकले झन्डै साढे ३ अर्ब नाफा कमाएको छ ।
बैंकले शुक्रबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा भने १०.२३ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि बैंकले ३ अर्ब ८ करोड २८ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशत बढेर ८ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा पनि बैंकको यस्तो आम्दानी ७ अर्ब ९३ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
बैंकको संचालन नाफा पनि ४ अर्ब ४८ करोड ४४ लाख ९९ हजार रुपैयाँबाट बढेर ५ अर्ब २ करोड ९८ लाख रुपैयाँ कायम भएको छ ।
गत आवमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८६ करोड २७ लाख ८७ हजार रुपैयाँ छ । बैंकले वितरणयोग्य मुनाफा ३.२० गुणा बढेको हो । यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई १३.२२ प्रतिशत लाभांश दिन सक्ने सामर्थ्य बनाएको छ ।
हाल बैंकको खराब कर्जा २.६२ प्रतिशत छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९लाख ८० हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा १५ अर्ब ४ करोड १३ लाख रुपैयाँ राखेको छ ।
गत आवमा बैंकको निक्षेप संकलन १६.१६ प्रतिशत वृद्धि भएको छ । योसँगै बैंकको कुल निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यता, कर्जा प्रवाह पनि ९.७६ प्रतिशत बढेर २ खर्ब १४ अर्ब रुपैयाँ कायम भएको छ ।
हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) २४.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ छ ।













