पहिलो त्रैमासिकमै चम्कियो नबिल बैंक: नाफामा ४५ प्रतिशतको फड्को, ३ महिना उठायाे ४ अर्ब ७३ करोड ब्याज
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निकै नै उत्साहजनक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ४५.४३ प्रतिशतले बढेकाे छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असार मसान्तदेखि असोज मसान्तसम्म) मा नबिल बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हाे ।
गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ रहेको थियो।
असाेज मसान्तसम्म बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि २१.४२ प्रतिशतको बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकले ३ अर्ब ९० करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियाे।
यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि १५.१२ प्रतिशतले बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानी र शुल्क आम्दानी दुवै बढेसँगै बैंकको कुल सञ्चालन आम्दानी १६.३५ प्रतिशतले विस्तार भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको थियो।
अर्कोतर्फ, सम्भावित जोखिम बापतको इम्पेयरमेन्ट खर्च ६४ करोड ७२ लाखबाट घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेपछि बैंकको सञ्चालन मुनाफामा ४२.३३ प्रतिशतको उछाल आएको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६७ करोड १९ लाख रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको वितरणयोग्य मुनाफामा भने संकुचन आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ७१ करोड ७७ लाख रुपैयाँ रहेको बाँड्न मिल्ने मुनाफा (वितरणयोग्य नाफा) ५२ प्रतिशतले घटेर यस अवधिमा २ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कायम भएको छ।
सम्पत्तिको गुणस्तरमा पनि नबिल बैंकले सुधार गरेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४.३१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.०६ प्रतिशतमा झरेको छ।
नाफामा आएको फड्कोसँगै बैंकको प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार आएको छ। गत वर्षको पहिलो त्रैमासमा वार्षिक २५.४९ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ८.४० रुपैयाँले बढेर ३३.८९ रुपैयाँ पुगेको छ। यस्तै, समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ भने २३३.९० रुपैयाँ कायम भएको छ, जुन गत वर्षको सोही अवधिमा २४०.७२ रुपैयाँ रहेको थियो।
व्यवसाय विस्तारतर्फ बैंकको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ। गत असार मसान्तसम्म ५ खर्ब ९२ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कुल निक्षेप संकलन ४.५९ प्रतिशतले बढेर असोज मसान्तसम्म ६ खर्ब १९ अर्ब २३ करोड १९ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, ग्राहकलाई प्रवाह गरिएको कर्जा तथा सापट पनि गत असार मसान्तको ४ खर्ब ६० अर्ब ३१ करोड ७३ लाख रुपैयाँबाट ३.४१ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब १ करोड ३६ लाख रुपैयाँ पुगेको छ।















